सुप्रभालाई धम्की दिने को ?

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १२:३९ मा प्रकाशित

Suprava-Ghimireकाठमाण्डु, ८ कात्तिक–काँग्रेस युवा नेता गगन थापा विरुद्ध काठमाडौं क्षेत्रनम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएकी नेतृ सुप्रभा घिमिरेले आफूलाई धम्की आएको खुलासा गरेकी छन् । शुक्रबार आफ्नो फेसबुक स्टाटसमार्फत् उनले धम्की र गाली गलौजको सामना गर्न परिरहेको खुलासा गरेकी हुन् ।

अघिल्लो संविधानसभा चुनावमा विजयी घिमिरेले यसपाली पनि सोही क्षेत्रमा उम्मेदवारी दावी गरेकी थिइन् । तर, पार्टीले गगन थापालाई उम्मेदवार बनाएपछि घिमिरेले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

गणेशमान सिंह, मंगलादेवी सिंह र शैलजा आचार्यहरुले पनि विगतमा धम्की खानुपरेको भन्दै उनले हाल आफूले त्यसकै निरन्तरताको सामना गरिरहेको बताएकी छन् । गाली गलौज गर्ने र धम्की दिने कोहो भन्नेबारे भने स्पष्ट उल्लेख गरेकी छैनन् । तर, उनले लेखेकी छन्, ‘धम्की तथा गाली गलौज गर्नेहरुलाई आभार ब्यक्त गर्न चाहन्छु किनकी यही प्रवृत्ति नेपाली काँग्रेसमा हावी छ र म त्यसैको खिलाफ मैदानमा उत्रेकी हुँ ।’

उनी अगाडी लेख्छिन्, ‘यस्तैखालको गाली गलौज गणेशमानजी, मंगला भाउजु र शैलजाजीहरुले पनि खप्नु परेको थियो । म यसको लागि तैयार थिएँ । यी कुराहरुले झन् मलाई मेरो निर्णय सही थियो भन्ने आभास गराएको छ ।’

चुनाव प्रचार प्रसारको क्रममा पुराना मतदाताहरुलाई भेट्दा हौसला झन् बढेको भन्दै घिमिरेले चुनावमा हौसला र साहस दिने सबैमा धन्यवाद पनि दिएकी छन् ।

काठमाण्डु क्षेत्रनम्बर ४ मा घिमिरे सहित एकीकृत माओवादीका नन्दबहादुर पुन, काँग्रेसका युवा नेता थापा र एमालेका निर्मल कुइँकेल उम्मेदवार छन् ।

Suprava

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us