सरकारले सुरक्षा दिन सकेन : निर्वाचन पर्यवेक्षक

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– चुनावकोबेला सुरक्षा प्रवन्ध मिलाउन नसकेको भन्दै निर्वाचन पर्यवेक्षकहरुले सरकारको आलोचना गरेका छन् । उमेदवारहरुमाथी आक्रमण बढ्दै जानु र राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप नरोकिनुले सरकारले सुरक्षा प्रवन्ध मिलाउन नसकेको पर्यवेक्षकहरुको निष्कर्ष छ ।

आम निर्वाचन पर्यवेक्षण समिति जियोकले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरि सरकारले सुरक्षा प्रवन्ध मिलाउन नसक्ने हो भने निर्धारित मितिमा भयरहित चुनाव हुन नसक्ने ठहर समेत गरेको छ । पत्रकार सम्मेलनमा चुनावको पर्यवेक्षणसम्वन्धी प्रारम्भीक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगले राजनीतिक दलको प्रभावमा परेर कमजोर आचारसंहिता बनाएको  र बनेको पनि कार्यान्वयन नगराएको जियोकको आरोप छ ।

जियोकका अध्यक्ष हिमालय शम्सेर राणाले निर्वाचन आयोगले मतदाता परिचय पत्र बेलैमा जारी नगरेर गल्ती गरिरहेको टिप्पणी गरे । ‘आचार संहिता पनि पालना नगर्ने र मतदाता परिचय पत्र पनि नबनाउने हो भने स्वस्च्छ निर्वाचन हुदैन,’ उनले भने ।

जियोकका महासचिव कृष्णमान प्रधानले सरकारले सुरक्षा व्यवस्था मिलाउनुपर्ने र निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us