रोएरै दिन बित्छ, नेपाली किसानको

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १०:०७ मा प्रकाशित

रमेश गिरी
भक्तपुर, ८ कात्तिक–महान् चाड दसँै आएर गइसकेको छ, अर्को ठूलो चाड तिहार नजिकिँदै छ तर भक्तपुरका किसानलाई यसको रौनकले पटक्कै छोएको छैन ।
सबैलाई चाडबाड मान्ने चटारो पर्दा पनि बर्डफ्लू र धानको बाला सुक्ने रोगका कारण प्रताडित बनेका यहाँका किसानको भने अचेल रोएरै दिन बित्ने गरेको छ ।
कुखुरा पाल्ने कृषक बर्डफ्लुको महामारीले ऋणको गह्रँुगो भारी बोक्न बाध्य भएका छन् भने धान भित्र्याउने बेलामा सुकेका धानको बाला र बोट हेरेर आँसु बगाउँदै बस्न बाध्य छन् यहाँका किसान ।
कुखुरापालन व्यवसायमा लाग्दै आएका कृषकको झन्डै पाँच अर्बको लगानी डुबेको छ भने कुखुराजन्य पदार्थ उत्पादन गर्ने जस्तै कुखुरा फार्म, भेटेरिनरी पसल, दाना उद्योग, चल्ला उत्पादन गर्ने उद्योग, अण्डा व्यापारी, मासु व्यापारीलगायत धेरैको लगानी जोखिममा परेको छ । हजाराँैको रोजगारी गुमेको छ भने कुखुरापालन व्यवसायमा गरिएको अर्बौंको लगानी खेर गएको छ ।
कुखुरापालन व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष तुल्सीराम धुख्वा बर्डफ्लुको कारण पोल्ट्री फार्म व्यवसायमा लागेकाहरूको करिब पाँच अर्बको लगानी डुबेकोे बताउछन । उनी भन्छन“जब बैंकमा ब्याज तिर्न ढिला भएको पत्र आउँछ,तब यहाँका कुखुरापालन व्यवसायीहरूको आँखाबाट आँसु चुहिन्छ, कहिले उत्रने बैंकको ऋणबाट यही चिन्ताले पिरोलिरहन्छ ।”
जिल्लामा दैनिक पाँच हजार १६६ मेट्रिक टन कुखुराको मासु तथा दुई करोड ६८ लाख १४ हजार गोटा अण्डा उत्पादन हुने गरेकामा अहिले उत्पादन नभएपछि उपभोक्तासमेत मारमा परेका छन् भने व्यवसायी ऋणको हिसाब गर्दै रित्तो खोर हेरेर बस्न बाध्य छन् ।
विगत ३० वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका कुखुरापालक व्यवसायी सङ्घका संस्थापक अध्यक्षसमेत रहेका लक्ष्मण ग्वाछाले पछिल्लो समय यो व्यवसाय फस्टाउन थालेपछि जिल्लाका करिब ८० प्रतिशत किसानले यो व्यवसाय सुरु गरेकामा बर्डफ्लुका कारण व्यवसायीहरू विस्थापित हँुदै गएको र ऋणको भारी बोक्नु परेको बताए ।
यता धेरै धान फल्ने आशामा डी वाई ६९ जातको धान लगाएका किसान पनि यतिखेर मारमा परेका छन् । धानका बाला सुक्ने रोगको महामारी फैलिएपछि खेतमा लगाइएको धानको एक दाना पनि किसानले घरमा भित्र्याउन पाएनन् । जिल्लाको सिपाडोल, झौखेल, दधिकोट, सुडाल, ताथली, नखेल, चित्तपोल र भक्तपुर नगरपालिकाको व्यासी लगायतका १० हजार रोपनी क्षेत्रमा लगाइएको धान नष्ट भएपछि यहाँका हजाराँै कृषक प्रभावित बनेका छन् ।
चाइनाबाट आयातीत डि वाई ६९ जातको धान लगाएको सबै खेतमा धानको बाला सुके पनि अन्य जातको धानमा भने रोग लागेको छैन । भक्तपुर जिल्लामा लगाएको करिब ४० प्रतिशत धान अहिले नष्ट भएको छ ।
भक्तपुर नगरपालिका–१० व्यासीकी शोभालक्ष्मी गोसाईंले खेतमा लगाएको सबै धानमा रोग लागेकाले यो वर्ष धानको अभाव हुने बताइन । माटो बिग्रिएर हो वा बीउकै कारण बाला सुक्ने रोग लागेको हो यसबारे अनुसन्धान गर्नुपर्ने बताउँदै उनी धानको बोटसमेत काम नलाग्ने गरी कुहिएको देख्दा आँसु थाम्नै नसक्ने गरेको बताउछिन ।
सिपाडोल गाविसका कृषक मोहन श्रेष्ठले विगतमा अरू जातको धान लगाउँदा एक रोपनी खेतमा ६ देखि सात मुरी धान भित्र्याएकामा यसपालि एक रोपनीमा १० पाथी धान पनि नआउने भएको बताए । धानको बोट हेर्दा आँखाबाट आँसु आउँछ भन्दै उनले अब खेतमा नै धानको बोटमा आगो लगाइदिने सुरमा रहेको बताए ।
ताथली गाविसकी सावित्री बस्नेतले धेरै धान फल्ने हल्लाका कारण आफ्नो २० रोपनी जग्गामा लगाएको डी वाई ६९ जातको धान सबै नष्ट भएपछि यो वर्ष परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको बताइन । अन्य जातको धान लगाएका छिमेकीले धान काटेर भित्र्याए तर आफ्नो धान खेतमा नै नष्ट भएको देख्दा मन थाम्नै नसकिने गरेको बस्नेत बताउँछन ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष भक्तपुरमा ३५ प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us