प्रचण्डमाथि किन आक्रामक हुँदैछ वैद्य माओवादी ?

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी र त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएको छ ।
prachanda-baidhya४ मंसिरमा निर्वाचन गराउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नेदेखि लिएर आफूलाई निर्वाचनमा आउन बाटो छेक्ने काम प्रचण्डबाटै भएको निष्कर्षसहित वैद्य माओवादीले उनीविरुद्ध निशाना केन्द्रित गरेको हो ।

प्रचण्ड चुनावी प्रचारमा आउने भएपनि वैद्य माओवादीले आज सिरहा बन्दको आह्वान गरेको छ । उनी संविधानसभा निर्वाचनमा काठमाण्डु–१० र सिरहा–५ बाट उम्मेदवार बनेका छन् । यसअघि चुनावी सभामा सहभागी हुन ताप्लेजुङ जान लागेका प्रचण्डलाई रोक्न बिहीबार वैद्य माओवादीका कार्यकर्ताले दर्जनौं स्थानमा रुख ढालेर कोशी राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरी र सशस्त्र प्रहरीलाई रुख हटाएर बाटो खुलाउन बिहीबार बिहानभर लागेको थियो ।

बिहीबार ताप्लेजुङको म्याङलुङ र सुनसरीमा भएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले चुनाव भाँड्ने उद्देश्यले बन्द हड्ताल गर्नेलाई जनताले प्रतिकार र तिरस्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्ड कार्यक्रम सकेर धनकुटा झरेलगत्तै वैद्य माओवादीका कार्यकर्ताले ताप्लेजुङ–१ का एमाओवादी उम्मेदवार सञ्चपाल मादेनसहितको चुनाव प्रचार टोलीलाई राति बास बसेकै ठाउँमा गएर मरणासन्न हुने गरी कुटपिट गरेको छ ।

मादेनको अवस्था गम्भीर रहेको माओवालीले बताएको छ । बिहीबार राति धनकुटा बास बसेर सिरहा फर्कन लागेका प्रचण्डलाई लक्षित गरी वैद्य माओवादीले शुक्रबार पनि सुनसरी बन्दको आह्वान गर्‍यो ।

यद्यपि सुरक्षा स्कर्टिङका कारण प्रचण्डलाई वैद्यको बन्दले केही असर पारेको छैन । प्रचण्ड स्वयम्ले कार्यकर्तामाझ वैद्यको बन्दले सडकहरु खाली हुँदा यात्रा सहज हुने गरेको बताउने गरेका छन् ।
काँग्रेस–एमाले नेतालाई छुट
त्यसो त वैद्य माओवादीले आफूलाई बाहिर राखेर निर्वाचन गर्न लागिएको भन्दै प्रमुख चार दलका शीर्ष नेता चुनावी अभियान लिएर जाने हरेक जिल्ला बन्द गर्ने घोषणा गरेको थियो । तर त्यो घोषणा प्रचण्डबाहेक अरुमा लागू भएको छैन । काँग्रेस सभापति सुशील कोइराला चुनावी प्रचार–प्रसारका क्रममा आफूले उम्मेदवारी दिएको चितवन–४ मा छन् । कोइराला शुक्रबार मंगलपुरलगायतका स्थानमा चुनावी अभियानमा सहभागी भए । तर वैद्य माओवादीले उनलाई लक्षित गरी बन्द हड्तालको आयोजना गरेको छैन ।

चितवन नेता कार्यकर्ताको संख्याका हिसाबले वैद्य माओवादीको देशभरकै सबैभन्दा पकड क्षेत्र मानिन्छ । यस्तै काँग्रेस उपसभापति रामचन्द्र पौडेल चुनावी अभियानका क्रममा तनहुँको गाउँगाउँमा पुगिरहेका छन् । वैद्य माओवादीले उनलाई पनि अवरोध पुर्‍याएको छैन । बिहीबार तनहुँको जामुने पुगेका पौडेल शुक्रबार पनि त्यही क्षेत्रमा छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवा पनि चुनावी अभियानका सिलसिलामा डडेल्धुरा छन् । देउवा बारम्बार राजधानी र डडेल्धुरा ओहोरदोहोर गरिरहेका छन् । तर वैद्य माओवादीले उनलाई लक्षित गरी एकपटक पनि बन्द आह्वान गरेको छैन ।

यस्तै एमाले अध्यक्ष झलनाथ खनाल चुनाव प्रचारका सिलसिलामा इलाममा छन् । त्यहाँ पनि बन्द भएको छैन । खनाल बीचमा एकपटक पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न राजधानी आएका उनी दोहोर्‍याएर चुनावी क्षेत्र इलाम–१ पुगेका छन् । यस्तै वरिष्ठ नेता माधव नेपाल रौतहट–१ उपाध्यक्ष बामदेव गौतम प्यूठान–१ र स्थायी समिति सदस्य केपी ओली झापा–७ मा चुनावी दौडाहामा छन् । वैद्य माओवादीले आजसम्म एक पटक पनि ती जिल्ला बन्द गरेको छैन ।
त्यतिमात्र होएन पार्टी विभाजनअघि भारतसँग ‘राष्ट्रघाती बिप्पा सम्झौता’ गरेको भन्दै नेता बाबुराम भट्टराईमाथि आक्रामक देखिएको वैद्य पक्ष उनीप्रति पनि तुलनात्मक रुपमा नरम देखिन्छ । चुनावी अभियानका क्रममा भट्टराई बारम्बार गोरखा र रुपन्देही आवतजावत गरिरहेका छन् ।

उनलाई पनि वैद्य माओवादीले अवरोध पुर्‍याएको छैन । अर्का नेता नारायणकाजी श्रेष्ठ पनि चुनावी अभियान लिएर मकवानपुरका गाउँगाउँमा छन् । वैद्य माओवादीले पार्टी विभाजनका धेरै कारणमध्ये श्रेष्ठले नेतृत्व गरेको तत्कालीन एकता–केन्द्र मसालसँगको एकता र उसलाई दिइएको ‘अनावश्यक इस्पेश’ पनि एउटा भएको वैद्य माओवादीका नेताहरु बताउँछन् ।

श्रेष्ठले वैद्य पक्षलाई बाहिर राखेर गरिने गरिने निर्वाचनले परिणाम नदिने भएकाले ४ मंसिरको निर्वाचन सानुपर्ने पक्षमा अन्तिमसम्म थिए । त्यसका अलावा वैद्य माओवादीका महासचिव रामबहादुर थापाको श्रेष्ठसँग राम्रो हिमचिम छ । थापा बारम्बार श्रेष्ठनिवास हात्तीवन आउजाउ गर्ने गर्छन । उनको यो गतिविधिलाई लिएर वैद्य माओवादीका दोश्रो तहका नेताले बैठकमै प्रश्न उठाउने गरेका छन् ।

बम वैद्य माओवादीले राखेको आशंका
शान्तिपूर्ण बहिस्कारको नीति लिएको वैद्य माओवादीले निर्वाचन भाँड्न हतियारको समेत साहरा लिन लागेको आशंका गर्न थालिएको छ । प्रचण्ड सुनसरीको धरानमा रहेका बेला धरान–१५ बाझगरास्थित ज्ञानचक्षु मार्गमा रहेको एकीकृत माओवादी निर्वाचन परिचालन कमिटीको वडा कार्यालयमा सकेट कम भेटियो । त्यसअघि शुक्रबार बिहान सिरहाको जम्दह गाविस–३ स्थित सरस्वती मावि र मुक्सार गाविस–३ मा रहेको एमाओवादी निर्वाचन कार्यालयमा सकेट बम भेटियो ।

एकै समयमा एउटै प्रकृतिको बम राख्ने समूह एउटै भएको निष्कर्षमा प्रहरी नेतृत्व पुगेको छ । ती प्रचण्डका चुनाव क्षेत्रमा पर्ने ठाउँ हुन् । सिरहा–५ का प्रत्यक्षतर्फका उम्मेदवार प्रचण्डले निर्वाचनका लागि घरदैलो अभियान थाल्न लागेकै दिन उनको निर्वाचन क्षेत्रमा बम भेटिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

किन प्रचण्डमाथि आक्रामक छ वैद्य पक्ष ?
पार्टी विभाजनदेखि नै वैद्य माओवादीले आक्रमणको केन्द्र प्रचण्डलाई बनाउँदै आएको छ । प्रचण्डको नेतृत्व कमजोर हुँदा मात्र एकीकृत माओवादी कमजोर हुन्छ र आफू बलियो भइन्छ भन्ने निष्कर्ष उसको छ । नेपालको राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई कमजोर नबनाई आफ्नो राजनीतिक एजेण्डाले नेपाली समाजमा स्थान नपाउने ठक्याइका कारण पनि वैद्य माओवादी प्रचण्डप्रति आक्रमक देखिएको ठान्नेहरु धेरै छन् ।
वैद्य माओवादीबारे विश्लेषक सोमत घिमिरे के भन्छन् ?
वैद्यजीहरुसँग राजनीतिक एजेण्डा केही पनि छैन । उनीहरु यतिखेर प्रतिक्रियात्मक राजनीतिमा छन् । उनीहरुले प्रचण्डमाथि गरिरहेको आक्रमण वा व्यवहार प्रतिक्रियाको राजनीतिबाहेक केही होइन ।

उनीहरुलाई गर्नु केही छैन, छ त प्रचण्डले के गर्छन्, त्यसको प्रतिक्रियामा केही गर्नु । माओवादी सकिएपछि मात्र आफू बनिन्छ भन्ने बुझाइले उनीहरुमा घर गरेको छ । प्रचण्डमा केन्द्रित हुनुको अर्को कारण उनलाई अवरोध पुर्‍याउँदा बढी प्रचार–प्रसार हुन्छ भन्ने पनि हो ।

पहिलो प्रहार प्रचण्डमाथि: गुरुङ
यसैबीच नेकपा–माओवादकिा सचिव देव गुरुङले चुनाव बहिस्कार अभियानका क्रममा पहिलो प्रहार एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई बनाउने नीति रहेको खुलासा गरेका छन् ।
चितवनको भरतपुरमा शुक्रबार भएको एक कार्यक्रममा उनले प्रचण्ड नेपालमा भारतीय विस्तारवादी नीति लागू गर्ने हनुमान भएकाले उनीमाथि प्रहार केन्द्रित गरिएको बताए । गुरुङले अध्यक्ष प्रचण्ड विदेशीको इसारामा चलेको र उनकै डिजाइनमा सेना परिचालन गरिएकाले उनीमाथिको आक्रमणलाई स्वभाविक रुपमा लिन भने ।

‘उनी एक नम्बरका भारतीय हनुमान हुन्’, प्रचण्डको नाम लिंदै गुरुङले भने, ‘उनी हाम्रो प्रहारको पहिलो नम्बरमा छन्, यो स्वभाविक हो ।’ गुरुङले विदेशीको योजनामा हुन लागेको ४ मंसिरको निर्वाचन बिथोलेरै छाड्ने चेतावनी पनि दिए । उनले १० वर्षे जनयुद्धबाट आएका आफूहरु सेना परिचालनको निर्णयबाट नतर्सने चेतावनी दिए ।

एमाओवादीद्वारा ताप्लेजुङ घटनाको भ्रत्र्सना

एकीकृत नेकपा माओवादीले आफ्ना पार्टीका नेता–कार्यकर्तामाथि आक्रमणका श्रृंखला बढ्दै गएको भन्दै सुरक्षाको प्रवन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । एकीकृत नेकपा माओवादीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि नै आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण जारी रहेकाले सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।
पछिल्लोपटक वैद्य माओवादी कार्यकर्ताको आक्रमणबाट ताप्लेजुङ क्षेत्रनम्बर १ का उम्मेदवार सञ्चपाल मादेनलगायतका नेता कार्यकर्ताहरु घाइते भएका छन् ।

प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा आक्रमणको भ्रत्र्सना गर्दैै उच्च सतर्कता अपनाउन र फेरि पनि त्यस्ता गतिविधि आइलागे डटेर सामना गर्न सबै कार्यकर्तालाई निर्देशन दिइएको छ ।

ताप्लेजुङको मेहले गाविस वडानम्बर २ स्थित एक घरमा सुतिरहेको बेला आज विहान साढे ३ बजेतिर मादेनमाथि आक्रमण भएको थियो । आक्रमणबाट मादेनसहित १५ जना घाइते भएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताहरु सन्तोष पतङ्वा, परशुराम पौडेल, तारा थापालगायत आक्रमणमा संलग्न रहेको एकीकृत माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us