वैद्य माओवादीलाई कारबाही गर्ने सरकारको तयारी

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ८:२७ मा प्रकाशित

काभ्रे, ८ कात्तिक– सरकारले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमाथि कडा कारबाहीको तयारी गरेको छ ।

Madhab-Ghimireगृह मन्त्रालयको आयोजनामा बिहान काभ्रेको धुलिखेलमा भएको निर्वाचनसम्बन्धी क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री घिमिरेले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका निर्वाचन भाँड्ने काममा संलग्न नेता कार्यकर्तामाथि सरकारले छिट्टै ‘एक्सन’ लिन लागेको बताए । तर कारबाहीको प्रकृतिबारे उनले केही खुलाएनन् ।

पछिल्ला व्यवहार र क्रियाकपाले वैद्य माओवादीलाई राजनीतिक दलको मान्यता दिन नसकिने घिमिरेको भनाइ थियो । दल हुन निर्वाचन आयोगमा दर्ता हुनुपर्ने भए पनि वैद्य माओवादी दर्ता नभएकाले उसलाई राजनीतिक शक्ति मान्न नसकिने तर्क गरे ।

‘पहिला संविधानसभाको निर्वाचन हुनुपर्‍यो भन्ने वैद्यहरु नै हुन्’, घिमिरेले भने,‘ जनताको मताधिकार कुण्ठित गर्ने गरी अराजनीतिक व्यवहार गर्नेलाई सरकारले छिट्टै कडा कारबाही गर्छ ।’ उनले आवश्यक कारबाहीका लागि तयार रहनसमेत सबै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिए ।

उनले निर्वाचका उम्मेदवार र मतदाता तथा निर्वाचन सामग्री सुरक्षाका लागि सरकार तयार रहेको प्रतिबद्धता दोहोर्‍याए । पछिल्लो केही दिनयता वैद्य माओवादीले संविधानसभा निर्वाचनका उम्मेदवार र निवौचन टोलीमाथिको आक्रमण तीव्र पारेको छ ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us