झडपमा काँग्रेस कार्यकर्ताले फाले प्रहरीका सामान

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ९:४० मा प्रकाशित

धादिङ, ८ कात्तिक–आचारसंहिता विपरीत सवारी साधनमा झन्डा राखिएको भन्दै प्रहरीले झन्डा निकालेपछि काँग्रेस कार्यकर्ता र प्रहरीबीच शुक्रवार नौबिसेमा झडप भएको छ ।
नौबिसे बजारमा रोकिराखिएको निजी सवारीमा राखिएको झन्डा निकाल्ने क्रममा झडप हुँदा एक काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।  काँग्रेस धादिङका सहसचिव अर्जुन उप्रेतीलगायत करिब बाह्र कार्यकर्ता घाइते भएको काँग्रेसले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । घाइते उप्रेतीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि काँग्रेस कार्यकर्ता प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । नौबिसे बजारमा रहेको प्रहरी बिटका सामान फालेर विरोधमा उत्रिएका काँग्रेस कार्यकर्ता र प्रहरीबीच दोहोरो झडपसमेत भएको थियो । काँग्रेस कार्यकर्ताले नौबिसेदेखि खानीखोलासम्म दुई किमि सडकमा प्रहरीविरुद्ध नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय खानीखोला अगाडि कोणसभा गरेका थिए ।
एमाओवादी–एमाले झडपमा १२ घाइते 

एमाओवादी र नेकपा एमालेका कार्यकर्ताबीच गोरखाको स्वाँरा गाविसमा झडप भएको छ । झडपमा दुवै पक्षका गरी १२ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय माझथर माविका शिक्षक रामबहादुर चौधरीसमेत रहेका छन् ।

स्वाँरा गाविसको थारचोकमा स्थानीय क्लबले तिहारको योजनाबारे गएराती छलफल गरिरहँदा ताकुकोट, धावा र आरुघाटबाट गएका एमाले कार्यकर्ताहरूले एक्कासि आक्रमण गरेको एमाओवादी गोरखाले बताएको छ ।

उता, नेकपा एमाले गोरखाले भने आफ्ना कार्यकर्ताहरू चुनाव प्रचारका लागि राति हिँडेको बेला बाटोमा एमाओवादीका कार्यकर्ताले कुटेको बताएको छ । घटनामा एमालेका ताकुकोट गाउँ पार्टी अध्यक्ष भीमबहादुर थापा, उपाध्यक्ष धनप्रसाद गुरुङ, धावा गाविसका अध्यक्षलगायत घाइते भएका छन् ।

एमाओवादीतर्फ महेन्द्र तामाङ, अनु गुरुङ तामाङ, रिना तामाङ र सुजन गुरुङ घाइते भएका छन् । उनीहरूको उच्च सुरक्षाका  साथ गोरखा अस्पतालमा उपचार भइरहेको छ । रासस

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us