सुदूरपश्चिमका पर्यटकीयस्थलको अध्ययन भ्रमण शुरु

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ३:३३ मा प्रकाशित

कञ्चनपुर, ८ कात्तिक–सुदूरपश्चिम क्षेत्रका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरुको स्थलगत अध्ययनका लागि शुक्रबार बिहान एक टोली महेन्द्रनगरबाट प्रस्थान गरेको छ । टोलीमा साहित्यकार, इतिहासविद् र पुरातत्वविदहरुको सहभागिता छ ।

कला र साहित्यको क्षेत्रमा क्रियाशील महाकाली साहित्य सङ्गम र सुदूरपश्चिम साहित्य समाजले संयुक्त रुपमा भाषा, साहित्य, कला, संस्कृति इतिहास एवम् पुरातत्वका विषयमा खोज तथा अनुसन्धानको कार्यलाई अगाडि बढाउनका लागि अवलोकन भ्रमण आयोजना गरेको हो ।

कात्तिक ११ गतेसम्म सञ्चालन हुने अवलोकन भ्रमणमा नेपाल र भारतका गरी ५० जना विज्ञ संलग्न रहेको महाकाली साहित्य सङ्गमका महासचिव हरिप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिमका नौं जिल्लामध्ये दार्चुला, बझाङ र बाजुराबाहेक सात जिल्लामा मात्र अध्ययन भ्रमण गरिनेछ ।

अनुसन्धान र अवलोकन भ्रमणका लागि अछामको वैद्यनाथ, डोटीको शैलेश्वरी, डडेल्धुराको अमगरगढी, उग्रतारा, अजयमेरु कोट, असिग्राम घटाल थान, बैतडीको उदयदेव, देहीमाडौं, निङ्गलाशैनी, देवल हाट, कुल्लेक कोट, जगन्नाथ, त्रिपुरासुन्दरीलगायत क्षेत्रलाई छनोट गरिएको छ । ‘अध्ययन, अवलोकन र अनुसन्धानको कार्यपछि पर्यटकीय, पुरात्वतिक, एतिहासिक क्षेत्रका साथै भाषा, कला र संस्कृतिबारे खोजमूलक पुस्तक प्रकाशन गर्ने लक्ष्य लिएका छौं,’ महासचिव जोशीले भने ।

अवलोकन टोलीमा भारतका पुरातत्वविद् महेश्वरप्रसाद जोशी, इतिहासकार शेखर पाठक, गिरिजाप्रसाद पाण्डेय, नेपाली साहित्यकार बुँद राना, यज्ञराज उपाध्याय, राजाराम सुवेदी, प्राडा चुडामणि बन्धु, प्रेम खत्री, कुलप्रसाद कोइराला, भवेश्वर पँगेनी, बालकृष्ण शर्मा, तुलसी खनाल, कृष्णप्रसाद न्यौपानेलगायतको सहभागिता छ । यही कात्तिक ११ गते बैतडी जिल्लामा पुगेर अनुसन्धान तथा अवलोकन भ्रमणको समापन गरिने बताइएको छ । अवलोकन भ्रमणका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको साहित्य संगमका अध्यक्ष वीरबहादुर चन्दले बताए ।

कैलालीमा तीन दिन र कञ्चनपुरमा एक दिन गरी कात्तिक ४ देखि ७ गतेसम्म सुदूरपश्चिमका संस्कृति, कला, इतिहास, भाषा र साहित्यबारे जानकारी दिने उद्देश्यले नेपाली लोक वार्ता तेस्रो राष्ट्रिय संगोष्ठीको आयोजना गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us