बेसीसहर–चामे सडक अझै खुलेन

काठमाण्डु टुडे २०७० असोज १४ गते ४:१२ मा प्रकाशित

लमजुङ, १४ असोज – बेसीसहर–चामे सडकका ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि तीन महिनादेखि सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन । पहिरोले सडक भत्काएपछि मनाङमा पहिलेजस्तै हिँडेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने खाद्यान्नलगायत सामानको ओसारपसारका लागि खच्चर र भरियाको भर पर्नुपर्ने अवस्था आएको छ । चाडबाड नजिकिँदासमेत सडक मर्मतमा सम्बन्धित निकायले चासो नदिँदा मनाङवासी चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य भएका छन् ।

पहिरोका कारण लमजुङ र मनाङको सिमाना म्यार्दीभीर, मनाङको दनाक्यू, बगरछाप, लमजुङको च्याम्चे लगायतका स्थानमा सडक भत्किएको छ । कुल ६५ किलोमिटर रहेको बेसीसहर– चामे सडकअन्तर्गत अहिले बेसीसहरदेखि च्याम्चेसम्मको ३२ किलोमिटरसम्म मात्र यातायात सञ्चालनमा आएको छ । ठाउँठाउँमा सडक पहिरोले भत्काएपछि पैदलयात्रु र अन्नपूर्ण मार्गमा आएका विदेशी पदयात्रीसमेत समस्यामा परेका छन् ।

सडक अवरुद्ध भएलगत्तै मनाङमा खाद्यान्नको मूल्य बढेकाले मनाङवासी चर्को मूल्यवृद्धिको मारमा परेका छन् । सरकारी कार्यालयका कर्मचारी, व्यापारी, शिक्षक तथा काठमाडौँ, पोखरालगायत देशका विभिन्न भागमा छरिएर बसेका मनाङवासीलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ ।

बेसीसहर–चामे सडकमा गत फागुनदेखि मोटर चल्न थालेको हो । नेपाली सेनाको बेसीसहर–चामे सडक निर्माण कार्य गणले निर्माण गरेको सो सडक हाल सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । सेना रहुन्जेल सडकको मर्मत गर्ने गरिए पनि सडक विभागले भने मर्मतको काम नगरेको स्थानीयवासीको गुनासो छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us