बजेटमा समावेश ९६ प्रतिसत आयोजना स्वीकृत
काठमाण्डु टुडे
२०७० असोज १२ गते १३:२५ मा प्रकाशित
काठमाण्डु, १२ असोज । अर्थमन्त्रालयले बजेटमा समेटिएका ९६ प्रतिसत आयोजना स्वीकृत गरेको छ ।

बजेट सार्वजनिक गरेको दुई महिनाको अवधिमा मन्त्रालयले ९६ प्रतिसत आयोजना स्वीकृत गरेको हो । बजेट लक्ष्य अनुसार खर्च गर्न सरोकारवाला निकायलाई सहयोग पुगोस भनेर कार्यक्रम स्वीकृत गर्न तोकेता गरिएको हो ।
विगतमा चैतसम्म पनि कार्यक्रम स्वीकृतकै चरणमा हुदा विकास खर्च थोरै भएको भन्दै मन्त्रालयले यस वर्ष असोज मसान्तसम्म सबै कार्यक्रम स्वीकृत गरिसक्ने योजना बनाएको हो । ‘अर्थमन्त्रालयले ९६ प्रतिसत कार्यक्रम स्वीकृत गरिसकेको छ’, अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपालले भने, ‘आयोजना कार्यान्वयनमा लैजना सरोकारवाला निकायलाई अब समस्या छैन ।’ सरकारले पुँजीगत बजेट समयमै खर्च गर्न नसकेकोको निकै लामो सयम वितिसकेको छ । पुजीगत बजेट समयमै खर्च गर्न नसक्नु पनि लक्ष अनुसार आर्थिक बृद्धि हुन नसक्नुको एउटा कारण हो ।
स्वीकृतीका लागि पछि आएका आयोजना मात्रै बाकी छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सबै आयोजनाको ठेक्का—पट्टा सक्नु पर्ने प्रावधान बजेटमा गरिएको छ । बजेटमा गरिएको प्रावधान अनुसार मंसिरसम्म सबै आयोजनाको ठेक्का पट्टा सक्न पनि कार्यक्रम स्वीकृत छिटो गरिएको हो । कार्यक्रम स्वीकृत भएपछि विकास आयोजनामा रकम खर्च गर्ने बाटो खुल्छ ।
आर्थिक वर्षको सुरु देखि नै आयोजनाहरुमा पैसा खर्च हुनुपर्छ भनेर कार्यक्रम स्वीकृतिलाई प्राथमिकतामा राखेर अघि बढाइएको प्रमुख आर्थिक सल्लाहकार डा. नेपालले बताए । कार्यक्रम ढीला स्वीकृत गराउने र आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट खर्च गर्ने प्रबृत्ति रोक्न पनि यसले सहयोग पुग्ने अनुमान गरिएको छ । बैशाख पछि विकास आयोजनाको बजेट रकमान्तर गर्न नपाउने व्यवस्था पनि छ ।
बिजमाण्डु डटकमबाट ।