आठ करोड बक्यौता सात दिन भित्र चुक्ता गर्न क्यासिनो माजोङलाई श्रम कार्यालयको आदेश

काठमाण्डु टुडे २०७० असोज १३ गते ९:२० मा प्रकाशित

Labour Office Orderकाठमाण्डु असोज–सोल्टी होटल लिमिटेडस्थित क्यासिनोमा विगत ३० वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुको बक्यौता पारिश्रमिक, भत्ता लगायतको ८ करोड रुपैंया ७ दिनभित्र भुक्तानी दिई साविक सेवामा लगाउन श्रम कार्यालय, वागमती अञ्चलले नयाँ व्यवस्थापन क्यासिनो माजोङलाई शुक्रबार आदेश दिएको छ ।

श्रम कार्यालयले मिति २०६८ असार २ गतेको निर्णय बमोजिम ४९ जना कामदार कर्मचारीले प्राप्त गर्नुपर्ने रकम २०६९ चैत ११ गते मुकुन्दराज खरेल लगायत ४६ जना कर्मचारीहरुको हकमा निर्णय ठहर भएको रकम र
२०७० बैशाख ३० गते स्वर्गीय लक्ष्मण विक्रम श्रेष्ठका हकमा प्रजेन्द्र श्रेष्ठ समेत ३ जनाले पाउनुुपर्ने गरी गरिएको निर्णय अनुसारको रकम समेत ७ दिन भित्र भुक्तानी गर्न आदेश दिएको हो ।

सोल्टी होटल लिमिटेड र माजोङ ईन्टरटेन्मेन्ट प्रालिबीच २०६९ कात्तिक २४ गते भएको लिज सम्झौता बमोजिम क्यासिनोको नाम मात्रै परिवर्तन गरी संचालन गरिएको र क्यासिनो नेपालमा कार्यरत कतिपय कामदार कर्मचारीहरुलाई सेवा अवधि गणना गरी उपदान लगायतका केही बक्यौता रकम क्यासिनो माजोङले भुक्तानी गरेको हुँदा ४९ जना कर्मचारीहरुलाई साविक सेवामा लगाउने र तिर्नु बुझाउनुपर्ने सम्पूर्ण दायित्व माजोङ ईन्टरटेन्मेन्ट प्रालिले लिनुुपर्ने भनी श्रम कार्यालयले निर्णय कार्यान्वयनका लागि आदेश दिएको छ ।

श्रम कार्यालयको निर्णयहरुको ७ दिन भित्र कार्यान्वयन नगरेको खण्डमा श्रम ऐन २०४८ को दफा २५ (५) बमोजिम चल अचल सम्पत्ति, सरकारी कार्यालयमा राखिएको धरौटी रोक्कामा राख्ने लगायतको कारवाही गरी श्रमिकहरुको दायित्व असुल उपर गरिने श्रम कार्यालयको आदेशमा उल्लेख छ ।

श्रम कार्यालयले २०६८ असार २,२०६९ फागुन ११ गते र २०७० बैशाख ३० गते गरेका निर्णय बमोजिम माजोङ ईन्टरटेन्मेन्ट प्रालिले ४९ जना कर्मचारीहरुलाई भुक्तानी गर्नुपर्ने कुल रकम आठ करोड आठ लाख ५८ हजार आठ सय १५ रुपैंया हुन पुगेको छ ।

नयाँ व्यवस्थापन कम्पनी माजोङ ईन्टरटेन्मेन्ट प्रालिले क्यासिनो नेपालका ७ सयभन्दा बढी कर्मचारीहरुलाई तलब घटुवा गरी काममा लगाउने तथा दुई सय भन्दा बढी कर्मचारीलाई केही रकम दिई अवकाश दिएपछि आफूहरुको हक हनन भएको भन्दै मुकुन्दराज खरेल समेतका ४९ कर्मचारीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us