आयातित फर्निचरले ६० प्रतिशत ओगट्नु दुःखदः अर्थमन्त्री

काठमाण्डु टुडे २०७० असोज ९ गते ९:२९ मा प्रकाशित

काठमाण्डु– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशबाट आयातित फर्निचरले ६० प्रतिशत नेपाली बजार ओगट्नु दुःखद विषय भएको बताएका छन् ।
shankar नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१३ को बुधबार काठमाण्डुमा उद्घाटन गर्दै मन्त्री कोइरालाले आन्तरिक उत्पादन र आयातको असन्तुलन कम गर्ने उपायको खोजीका लागि सहकार्य गर्न सरकार तयार रहेको बताए । परम्परागत सीप र कलामा आधारित उद्योगलाई प्रोत्साहित गर्न जस्तोसुकै सहयोग गर्ने बचन उनले दिए । उनले सरकार निजी क्षेत्रको हितका लागि सरकार बाधक नभइ  साधक बन्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानले बिजुली, दक्ष जनशक्ति, कच्चा पदार्थ र मजदुर समस्याका कारण व्यवसाय चौपट भएको बताए । नेपाल– चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट भाषणमा निजी क्षेत्रलाई दिएको प्रोत्साहन व्यवहारमा उतार्न आग्रहगरे । कार्यक्रममा व्यवसायीहरुले फर्निचर व्यवसायको विकास, विस्तार र संरक्षणमा अभिभावकीय भूमिका निर्वाह गरिदिन सरकारसँग आग्रह गरे । यसका लागि वन पैदावारका समस्यालाई पनि सुल्झाउनुपर्ने उनीहरुको भनाइ छ ।
पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशमा बनेका फर्निचरका अत्याधुनिक सामग्री राखिएका छन् । संघले दिएको जानकारी अनुसार यस व्यवसायमा २० अर्बभन्दा बढीको लगानी छ । सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडाँै उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us