“हावापानी परिवर्तनबारे नेपाली बढी संवेदनशील”

काठमाण्डु टुडे २०७० असोज ८ गते १७:३४ मा प्रकाशित

bbcबीबीसीको अन्तराष्ट्रिय बिकाससम्बन्धी अंग बीबीसी मिडिया एक्शनले सातवटा देशमा गरेको एउटा सर्वेक्षणले हावापानी परिवर्तनका असर कम गर्नका लागी आफ्नो जीवनशैली बदल्न नेपालीहरु सबैभन्दा बढी इच्छुक रहेको देखाएको छ।

क्लाइमेट एसिया नाम दिइएको उक्त प्रतिवेदनले नेपालीहरु हावापानी परिवर्तनको असरहरु झन खराव हुनेमा सबैभन्दा चिन्तित रहेको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

 तर सुचनासम्म पहुँच नहुँदा वतावरणमा आएको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने अन्यौल सर्वसाधारणमा व्याप्त रहेको पाइएको छ।

तथ्यांक

उक्त सर्वेक्षणमा सहभागी नेपालका लगभग साढे २३ सय मानिस मध्ये ८२ प्रतिशतले हावापानी परिवर्तनको असरसँग जुध्न आफ्नो जीवनयापन र जीवनशैलीमा परिवर्तन ल्याउने इच्छा देखाएका छन्।

दक्षिण एसियाका अन्य देशहरु भारत, पाकिस्तान र बंगलादेश भन्दा नेपाली उत्तरदाताहरु जलवायु परिवर्तनका असरको सामना गर्न सबैभन्दा बढी इच्छुक देखिएको काठमान्डूमा मंगलबार सार्वजनिक गरिएको क्लाइमेट एसिया शिर्षकको प्रतिवेदनमा उल्लेख छ।

बीबीसी मिडिया एक्शनकी वरिष्ठ अनुसन्धान व्यवस्थापक सोनिया व्हाइटफिल्डका अनुसार धेरै नेपालीहरु जीवनशैली बदल्न इच्छुक रहेपनि पर्याप्त जानकारीको अभावमा त्यसो गर्न सकिरहेका छैनन्।

उनको भनाई छ “नेपालीहरु हावापानी परिवर्तनको असर कम गर्न कदम चाल्न इच्छुक छन् तर त्यसका लागि संघर्ष गरिरहेका छन्। सर्वेक्षणमा सहभागी ८२ प्रतिशतले जीवनशैली बदल्नुपर्ने महसुस गरेको बताएपनि वास्तावमा १९ प्रतिशतले मात्र त्यसो गरेका छन्।”

कदम

वैकल्पिक बाली र आयआर्जनका उपाय अपनाएर, वृक्षारोपण गरेर, पिउने पानी सुरक्षित बनाएर र खानेकुराहरु खेर जान नदिएर केही मानिसहरुले हावापानी परिवर्तनका चुनौतिहरुसँग लड्दै आएको उक्त अध्ययनले जनाएको छ।

पुरुष भन्दा महिला कृषकहरु बालीमा विविधिकरण गर्न र माटोको उर्वराशक्ति बढाउने कार्यमा बढि संलग्न भएको पनि अध्ययनले देखाएको छ।

हावापानी परिवर्तनका कारण तापक्रममा बृद्धी भएको, कम वर्षा भएको र रुखहरुको संख्या घटेको नेपालका सहभागीहरुले बताएको बीबीसी मिडिया एक्सनकी वरिष्ठ अनुसन्धान व्यवस्थापक व्हाइटफिल्डले बताइन्।

उनको भनाइ थियो, “गाम्रिण क्षेत्रका अधिकांश व्यक्तिहरुले कृषि उत्पादनमा ह्रास आएको महसुस गरेको पाइयो जसको कारण उनीहरुको आयआर्जनमा असर पारीरहेको छ। किटानासक औषधिका कारण पर्ने असरका बारेपनि मानिसहरु चिन्तित पाइए।”

सात देशका साढे ३३ हजार मानिस माझ गरीएको सर्वेक्षणका सहभागीहरुले हावापानी परिवर्तनका कारण तापक्रममा बृद्धी भएको र जल र खाद्यमा अभाव छाएको पनि बताएका छन्।

बीबीसी मिडिया एक्शनले उक्त अनुसन्धानको निष्कर्ष सर्वसाधारणको दृष्टीकोण भएको र त्ससमा विज्ञहरुको धारणा समावेश नगरिएको प्रष्ट पारेको छ।

Source : BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us