औषधिको म्याद बाटोमै सकियो

काठमाण्डु टुडे २०७० असोज ८ गते ५:१२ मा प्रकाशित

Medicineकाठमाण्डु, ८ असोज –बिरामीको उपचारका लागि निःशुल्क वितरण हुने औषधिको म्याद जाजरकोट सदरमुकामसम्म पुर्‍याउन नपाउँदै बाटोमै सकिएको छ । सरकारले विरामीकालागि निःशुल्क वितरण गर्न भनेर बाराको पथलैयाबाट पठाएको लाखौं मूल्य पर्ने औषधीको म्याद सदरमुकामसम्म नपुग्दै गुज्रिएको हो ।

झाडापखाला, लुतो, दम, भाइरल ज्वरोलगायत रोगका लागि अत्यावश्यक औषधि १५ महिनाअघि जाजरकोटको राकम बजारमा अलपत्र परेको थियो । म्याद सकिएका औषधीमा बीस हजार अल्वेन्डा जोल, साल्वोटामोल ५० हजार ट्यावलेट, तीन पेटी सिरफ सिटामोल, ७ सय आरएल स्लाइन, दुईपेटी स्क्याविज लोसन, तीन पेटी जीवनजल लगायत छन् । जिल्ला अस्पताल जाजरकोटमा औषधि ढुवानीको जिम्मा लिएका दीपक कठायतले राकमको एक होटलमा मासिक एक हजार भाडा दिने सर्तमा ति औषधि राखेका थिए ।

बाटोमै म्याद सकिएको औषधिबारे आफूलाई भने कुनै जानकारी नभएको जिल्ला स्वास्थ्य अधिकृत धीरजङ्ग शाहले बताए ।

त्यस्तै ठेकेदारको लापरवाहीले डोल्पा लैजाने औषधि पनि चार महिनादेखि जाजरकोटमै थन्किएको छ । करिव दुई ट्र्याक्टर औषधि जाजरकोट जिल्ला अस्पतालमा थन्किएको हो ।

स्थानीय सर्बसाधारण भने जिल्ला अस्पतालबाट निःशुल्क वितरण हुने औषधि नपाएर मेडिकलमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us