‘आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति असम्भव’

काठमाण्डु टुडे २०७० असोज ७ गते ५:५० मा प्रकाशित

shankar-Prasad-Koiralaकाठमाण्डु, ७ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरेको छलफलमा मन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र दिगो विकास सम्भव हुने बताए ।

जनताको आर्थिक अवस्था मजबुत बनाउन स्थानीय उद्यमी र उद्योगहरुलाई प्रोत्साहित गर्नुपर्ने उनको जोड थियो । लगानीमैत्री वातावरण र राजनीतिक स्थायित्व भएमा लगानीकर्ताहरुको उपस्थिति बढ्ने बताउँदै उनले प्रस्तावित वैदेशिक नीतिले यही मूल्य र मान्यतालाई आत्मसात गरेको जानकारी गराए ।

‘आसन्न दशैं तिहारमा फूलमाला मात्र हैन माला उन्ने सियो धागो पनि बाहिरैबाट ल्याउनुपर्ने अवस्था छ । जसबाट करोडौंको पैसा बाहिरिन्छ,’ उद्योगमन्त्री समेत रहेका कोइरालाले भने, ‘यो अवस्थालाई दृष्टिगत गरी हामीले स्थानीय उत्पादनमा लगानी बढाउनु पर्छ ।’ जनताको जीवनस्तर उठाउने खालका कार्यक्रममा आर्थिक श्रोतको अभाव हुन नदिइने उनले प्रतिबद्धता पनि जनाए ।

द्वन्द्वकालमा पनि घरेलु उद्योग र उत्पादन कम प्रभावित भएको चर्चा गर्दै मन्त्री कोइरालाले साना व्यवसायीको प्रवद्र्धनबाट मात्र उत्पादनमुखी अर्थतन्त्रको यात्रा शुरु हुने बताए ।
उद्योग मन्त्रालयका सहसचिव तथा कार्यक्रमका राष्ट्रिय निर्देशक यामकुमारी खतिवडाले गरिवी निवारण कार्यक्रमको लक्ष्य भएकाले सरकारसँगको सहयात्रा थप प्रभावकारी भएको दावी गरे ।

कार्यक्रमका राष्ट्रिय प्रबन्धक डा. लक्ष्मण पुनले दक्ष जनशक्ति पलायनका कारण काम गर्नमा कठिनाई आउने गरेको धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us