
नुवाकोट, ६ असोज– क्षमता वृद्धिको विवादका कारण अलपत्र परेको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सुचारु गर्न सरोकारवालाले माग गरेका छन् ।
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सरोकार समिति र माथिल्लो त्रिशूली थ्री ए र थ्री बी जलविद्युत् आयोजना जनसरोकार समितिलगायत संघसंस्थाले ७ बुँदे माग राख्दै आइतबार आयोजना निर्माण पक्षसमक्ष ज्ञापनपत्र बुझाएका छन् । स्थानीय राजनीतिक दल र सरोकार समितिले यसअघि आयोजनाको क्षमता ६० मेगावाटबाट वृद्धि गरी ९० मेगावाट बनाइनुपर्ने लगायत विभिन्न माग राखेर पटकपटक आन्दोलन गरिरहेका थिए ।
आफ्ना माग सम्बोधन नभएपछि निर्माणकार्य ठप्प भएको आयोजना तत्काल अघि बढाउन उनीहरुले माग गरेका हुन् । त्रिशूली कोलोनीस्थित आयोजनाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यसअघि राखिएका मागपत्रको बारेमा सर्वपक्षीय, सर्वदलीय बैठकबाट निर्णय गराई कार्यान्वयन गराउनुपर्ने र त्यसप्रति बेवास्ता गरिए अर्को आनदोलन थाल्ने चेतावनीसमेत सरोकारवालाले दिएका छन् । सरोकार समितिका अध्यक्ष मेघनाथ घिमिरे र जनसोकार समितिका अध्यक्ष लेखनाथ अधिकारीसहित सरोकारवाला विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विभिन्न आर्थिक चलखेल र कर्मचारी तथा नेपाल सरकारको बेवास्ताले आयोजना अलपत्र हुन लागेको बताए ।
त्यसका लागी आयोजना छिटो सञ्चालन गर्न र स्थानियका माग पुरा गराउन उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोजना निर्माण पक्षलाई ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए ।