
वीरगंज, ६ असोज – छिमेकी मुलुक भारतको रक्शौलमा आइतबार बिहान एक ट्रान्सपोर्ट गोदाममा आगलागी हुदा गोदाममा रहेका लत्ताकपडा सहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भारतिय टीसीआई ट्रान्सपोर्टको गोदाममा आईतवार विहान ९ बजे विद्युत सट भएर एक्कासी आगलागी हुदा ८ करोड भन्दा बढीको क्षति भएको ट्रान्सपोर्ट कर्पोरेसन अफ इन्डियाका म्यानेजर ताराचन्द प्रसादले जानकारी दिए । गोदाममा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
नेपाल र भारतका वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानियवासीको सहयोगमा आगो ६घण्टा पछि नियन्त्रणमा आएको थियो । रक्सौलको भारतिय कोलोनीमा रहेको सो गोदाममा लागेको आगो नियन्त्रणमा लिन नसक्दा बिहानैदेखि रक्सौल क्षेत्रको जनजिवन नराम्रोसँग प्रभावित भएको थियो । आगलागीका कारण रक्सौलमा भागदौड समेत मच्चिएको थियो । नजिकै भारतीय आयल निगमको डिपो रहेकाले आगलागिका कारण त्यसमा पनि क्षति पुग्न सक्ने भय र त्रासको कारण रक्सौलबासीमा आतंक मच्चिएको हो ।
गोदाम विशेष गरि रक्सौल र नेपाली व्यवसायीले मगाएका लत्ताकपडा, मेसिनरी पार्टपूर्जा र दैनिक उपभोग्य सामानले भरीभराउ थियो ।