
काठमाण्डु, ४ असोज – राजमार्ग छेउछाउँका होटेल व्यवसायीले सँधैजसो गुणस्तरहीन खाना र चर्को मूल्य असूल्ने गरेको गुनासो आए पनि कारबाही गर्न नसकेको सरकारले चाडपर्वलाई लक्षित गरी अनुगमन शुरु गर्दैछ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरी राजमार्गका होटलहरुमा अनुगमन गर्न लागेको हो ।
आगामी सातादेखि अनुगमन शुरु गर्ने विभागको बजार अनुगमन विभागका प्रमुख हरिनारायण बेल्बासेले जानकारी दिए । ‘स्थानीय प्रशासनसँग समन्वय गरी राजमार्ग छेउँका होटलहरुमा अनुगमन शुरु गर्छौं,’ बेल्बासेले भने, ‘अनियमितता गरेको पाइए आवश्यक कारबाही हुन्छ ।’
विभागले यसअघि सरसफाई र गुणस्तरको आधारमा राजमार्ग छेउँका होटल तथा रेष्टुरालाई वर्गिकरण गरी स्टीकर टाँसेको थियो । सफा र गुणस्तरीय खानेकुरा बिक्री गर्नेलाई हरियो, केही सुधार गर्नुपर्नेलाई पहेंलो भित्र एउटा रातो धर्को, धेरै सुधार गर्नुपर्नेलाई पहेंलोमा दुईवटा धर्का र सबैभन्दा खराब खानेकुरा बिक्री गर्नेलाई रातो स्टिकर टाँसिएको छ ।
धादिङ र चितवनका १ सय ५० वटा होटल, रेष्टुरालाई वर्गीरण गरी स्टिकर टाँसिएको विभागको भनाई छ । त्यसमध्ये अधिकांशमा धेरै सुधार गर्नुपर्ने देखिएको छ । स्टिकर टाँसेको होटल तथा रेष्टुरामा सुधार भए÷नभएकोबारे अनुगमन गर्न स्थानीय स्तरमा कमिटी गठन गरिए पनि प्रभावकारी नभएको उपभोक्ताको गुनासो छ ।