सुपथ मूल्य पसलमा किन्नेभन्दा सोध्नेको भीड

काठमाण्डु टुडे २०७० असोज ४ गते ३:२३ मा प्रकाशित

Supath-Mulyaकाठमाण्डु, ४ असोज – चाडपर्वको बेला सर्वसाधारण उपभोक्तालाई सस्तोमा खाद्यबस्तु बेच्न सरकारले खोलेका सुपथ मूल्य पसलमा सामान किन्नेभन्दा भाउ सोध्नेको भीड बढेको छ । कतिपयले सुपथ मूल्य पसलमा राखिएको मूल्य सूची हेरेर कागजमा टिपेर लैजाने र कतिपयले सोध्ने गरेको पसल व्यवस्थापकहरुको भनाई छ ।

‘अहिले त किन्नेभन्दा पनि भाउ सोध्ने र हेर्ने उत्सुक उपभोक्ता धेरै छन्,’ ललितपरको जावलाखेलस्थित सुपथ मूल्य पसलको व्यवस्थापक सञ्जय जोशीले भने, ‘अब बिस्तारै सामान किन्नेको पनि भीड बढ्ला नी ।’ खाद्यबस्तुको भाउ बुझ्नेहरुमा पुरुषहरु धेरै छन् । पसलमा नुन, चिनी, दाल, चामल, मसला, तेल, घ्यू, पीठो, दूध लगायतका खाद्य वस्तु के कति मूल्मा बिक्री गरिन्छ भन्ने दरभाउ सबैले देख्ने गरी टाँसिएको छ ।

सरकारले बिहीबारदेखि काठमाण्डु उपत्यकाका आठ स्थानमा सुपथ मूल्य सञ्चालनमा ल्याएको थियो । सरकारी स्वामित्वका नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान, नेसनल ट्रेडिङ लिमिटेडका उत्पादन राखिएका सुपथ मूल्य पसल छठ पर्वसम्म चल्ने छन् । सुपथ मूल्य पसलबाट बजारमा प्रतिकिलो ७२ रुपैयाँ पर्ने चिनी ६६ रुपैयाँमा र १५ रुपैयाँ पर्ने आयोडिन नुन प्रतिकिलो १३ रुपैयाँमा बिक्री भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us