खुमबहादुरलाई भेट्न जेलमा भीड

काठमाण्डु टुडे २०७० असोज ३ गते ३:३६ मा प्रकाशित

नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, 3 असोज

बिदाको दिनमा प्रशासनले जेलमा रहेका कैदी/बन्दीलाई आफन्तसँग भेट्न दिँदैन । तर, डिल्लीबजारस्थित कारागारमा रहेका कांग्रेस नेता खुमबहादुर खड्कालाई भने यो नियम लागू हँुदैन । बुधबार सार्वजनिक बिदाको दिन डिल्लीबजार कारागारमा बिहानैदेखि उनलाई भेट्नेको लाइन लागेको थियो । साँझसम्म उनलाई दुई सयभन्दा धेरै नेता–कार्यकर्ता तथा प्रहरी अधिकारीले भेटे । भेट्न पुगेका सयभन्दा बढी कार्यकर्तालाई उनले समय नभएको भन्दै गेटबाटै फर्काइदिएका थिए ।

पार्टीमा टिकटको दौडधुप चलेकाले पनि भ्रष्टाचार मुद्दामा जेल परेका नेता खड्कालाई भेट्नेको जेलमा भीड लागेको हो । कांग्रेस नेताहरू शंकर भण्डारी तथा चित्रलेखा यादवसमेत नेता खड्कालाई भेट्न बुधबार डिल्लीबजार जेल पुगेका थिए । त्यस्तै, पूर्वप्रहरीमहानिरीक्षक रमेश चन्द ठकुरी तथा वहालवाला डिआइजी विश्वराजसिंह शाहीसमेत उनलाई भेट्न जेल पुगेका थिए ।

त्यस्तै, अधिवक्ता शेरबहादुर केसी पनि जेल पुगेका थिए । केसी खड्काका नातेदार पनि हुन् । दाङलगायतका मध्यपश्चिमका धेरै जिल्लास्तरीय नेता टिकटको लबिङका लागि पनि जेल पुगेका थिए । तल्लो तहका कार्यकर्ता पुगे पनि धेरैलाई उनले व्यस्त भएको भन्दै गेटबाट फर्काइदिएका थिए । ‘प्रधानमन्त्रीलाई भेट्न आउने संख्याभन्दा कम छैन,’ कारागारका एक प्रहरी अधिकारी भन्छन्, ‘जेलबाट नै उनले देश चलाएजस्तो लाग्छ ।’

भेट्न जानेहरूमा गुन्डागर्दीमा संलग्न समूह पनि ठूलो थियो । पछिल्लो समय खड्काका विश्वासपात्र बनेका डन महेश श्रेष्ठ पनि उनलाई भेट्न पुगेका थिए । खड्काकै जिल्लावासी श्रेष्ठले गुन्डागर्दीमा संलग्न विभिन्न व्यक्तिलाई लगी जेलमा भेटाउँदै आएका छन् ।

नेता खड्कालाई भेट्न कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासमेत पटक–पटक पुग्ने गरेका छन् । केही दिनअघि भेट्न पुगेका रामचन्द्र पौडेलसँग उनको विवाद नै भएको स्रोत बताउँछ । फौजदारी अभियोगमा सर्वोच्चबाट दोषी ठहर भएका व्यक्ति संविधानसभामा उम्मेदवार हुन नपाउने प्रावधान आफूलाई ‘माइनस’ गर्न राखिएको भन्दै उनले पौडेलसँग झगडा गरेका थिए ।

जेलको नियम लाग्दैन खड्कालाई

प्राय: शनिबार तथा बिदाको दिनमा उनलाई भेट्न भीड लाग्ने गरेको छ । भिआइपी व्यक्तिहरू उनलाई भेट्न प्राय: बिहानको समयमा जाने गर्छन् । बिहान साढे १० बजेदेखि साढे तीन बजेसम्म मात्र कैदी/बन्दी भेट्न पाउने जेलको नियम भए पनि नेता खड्कालाई जुनसुकै वेला भेट्न पाउने नियम बनाइएको छ । अन्य कैदी/बन्दीलाई भेट्न जाने व्यक्तिलाई कडाइका साथ चेकजाँच हुने भए पनि नेता खड्कालाई भेट्न जानेलाई लाइन पनि नबसीकन भित्र छिराइने गरिएको स्रोत बताउँछ ।

जेलभित्रैबाट ‘पावर एक्सरसाइज’

जेल परे पनि उनले भित्रैबाट ‘पावर एक्सरसाइज’ गर्दै आएका छन् । कर्मचारी तथा प्रहरीको सरुवा–बढुवामा जेलभित्रैबाट फोन गरेर उनले लबिङ गर्दै आएका छन् । पक्राउ परेका व्यक्तिलाई छुटाउनसमेत उनले दबाब दिने गरेका छन् । तीनपटकसम्म गृहमन्त्री भएका खड्काको प्रहरी र कर्मचारीतन्त्रमा राम्रो पकड छ । जेल परेको भोलिपल्टै उनलाई भेट्न तत्कालीन एआइजीहरू नै जेल पुगेका थिए ।

स्रोतका अनुसार नेता खड्काले आफूलाई पार्टीको संसदीय बोर्डमा पार्न लबिङ गरिरहेका छन् । तर, सुशील कोइराला पक्षका नेताहरूले मानेका छैनन् । सभासद्देखि मन्त्री सिफारिससम्मको अधिकार हुने संसदीय बोर्ड पार्टीमा शक्तिशाली हुन्छ ।

सबैलाई समान व्यवहार : प्रहरी

तर, महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पाल भने जेलमा रहेका सबैलाई समान व्यवहार हुने दाबी गर्छन् । ‘नियमअनुसार नै भेटघाट गराउन निर्देशन दिँदै आएका छौँ,’ उनले भने, ‘कसैले नियम मिचेमा त्यसको अनुसन्धान हुन्छ ।’

डिल्लीबजार कारागारका सुरक्षा प्रमुख इन्स्पेक्टर खड्गबहादुर भण्डारीले भने आफूहरूले समयभित्र नै भेटघाट गराउँदै आएको र कहिलेकाहीँ समय छिटो–ढिलो हुने गरेको बताए । बुधबार खड्कालाई भेट्न पुगेका डिआइजी विश्वराजसिंह शाहीले भने अनुगमनका लागि आएको प्रतिक्रिया दिए ।

खड्कालाई विशेष सुविधा

जेलभित्र पनि खड्कालाई विशेष सुविधा छ । उनका लागि कारागारमा एलसिडी टेलिभिजनसहितको छुट्टै कोठा छ । त्यस्तै, भेटघाट गर्ने छुट्टै ठाउँ बनाइएको छ । जहाँ दैनिकजसो उनी नेता–कार्यकर्तासँग मिटिङ गर्ने गर्छन् । जेलमै रहेका केही कैदीलाई उनले आफ्नो सहयोगीका रूपमा राखेका छन् ।

भ्रष्टाचार मुद्दामा १८ महिना कैद र एक करोड ८८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका खड्का असोजको अन्तिममा छुट्दै छन् । जेलबाट छुटेलगत्तै सक्रिय राजनीतिमा लाग्ने उनको योजना छ । जेलबाट छुटेको दिन आफ्नो स्वागत गर्न उनले हजारौँ युवालाई तयारीस्वरूप बस्न निर्देशन दिइसकेका छन् ।

डिल्लीबजार कारागारमा भिआइपीको भीड

डिल्लीबजार कारागारमा भिआइपी कैदी/बन्दीहरू छन् । नेता खड्का मात्र नभई अपहरण मुद्दामा अर्का नेता श्यामसुन्दर गुप्ता पनि त्यहीँ छन् ।

त्यस्तै, दुई चर्चित डन गणेश लामा र दीपक मनाङे पनि सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमै छन् । श्रीमती हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला पनि त्यहीँ छन् । त्यस्तै, नक्कली भारुको कारोबार गरेको मुद्दामा नेपाल तेक्वान्दो संघका महासचिव रवि सिंह पनि डिल्लीबजार कारागारमै छन् ।

पावर र पैसा दुवै भएकाले उनीहरूलाई जेलमा अन्य कैदी/बन्दीभन्दा फरक व्यवहार हुने गरेको छ । भेटघाटमा सहज गराइदिने मात्र नभई उनीहरूलाई राम्रो कोठामा राखिएको स्रोत बताउँछ । डिल्लीबजार कारागारमा क र ख ब्लकमा गरी करिब ६ सय कैदी/बन्दी छन् ।

भ्रष्टाचार मुद्दामै चिरञ्जीवी वाग्ले र जयप्रकाश गुप्ता पनि डिल्लीबजार जेलमै बसी कैद भुक्तान गरी गत वर्ष छुटेका थिए । अन्य जेलमा भन्दा कम कैदी/बन्दी रहेको र आफन्तहरूलाई भेट्न सजिलो ठाउँमा भएकाले धेरैले डिल्लीबजार जेललाई रोज्ने गरेका छन् । पुरानो भवनमा रहेको कारागार भने जीर्ण अवस्थामा छ । जहाँ क्षमताभन्दा दोब्बर कैदी/बन्दी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us