चलचित्रप्रति समाजको आकर्षण अत्यधिक

काठमाण्डु टुडे २०७० भदौ २९ गते १४:२३ मा प्रकाशित

                                                                        खिलराज रेग्मी 
Film Artistes Association of Nepalसमाजमा रहेका विविध साँस्कृतिक पक्षहरुलाई प्रष्फुटन गरी आकर्षक प्रस्तुतीका माध्यमबाट अभिव्यक्त गर्ने कार्यलाई कलाको रुपमा स्वीकारिएको छ भने कलाको अभिव्यक्ति दिने व्यावसायिक व्यक्तिहरुलाई कलाकारका रुपमा समाजमा उच्च सम्मान र आदर गरिएको छ । मानव सँस्कृतिसँग सम्बन्धित विभिन्न विधाहरुको प्रबद्र्धनलाई प्राय सबै समाजमा सँधै विशेष महत्व र प्राथमिकता दिएको पाइन्छ । कला र कलाकारले समाज र जीवनशैलीलाई अभिव्यक्तिको माध्यमबाट मौलिक रुपमा विषयवस्तुहरुको प्रस्तुत गर्ने भएकाले पनि यस क्षेत्रप्रति व्यापक आकर्षण रहेको हो भन्ने मलाई लाग्दछ । विशेषतः कला क्षेत्रभित्र पनि चलचित्र क्षेत्रको अस्तित्व विश्वका अधिकांश समाजमा विकास हुँदै आएको देखिन्छ । चलचित्र विधाले सामाजिक जीवनका विविध गतिविधि र अभ्यासहरुलाई कलात्मक प्रस्तुती दिँदै जनमानसमा मनोरञ्जन र चेतना दुवैलाई एकै अवसरमा प्रस्तुत गर्न गराउन सक्दछन् । तसर्थ, चलचित्रप्रति समाजको आकर्षण अत्यधिक रहेको छ ।
वर्तमान समयमा चलचित्रको विकासमा विश्वमा प्रविधिको विकाससँगै उल्लेख्य प्रगति हासिल भइसकेको छ । आधुनिक अवस्थामा चलचित्रको जुन गतिमा विकास भएको छ त्यसको तुलनामा विगतको अवस्था हेर्ने हो भने ऐतिहासिक समयमा प्रस्तुत हुनेगरेका नाटक, अभिनय र रङ्गकर्महरु तत्कालिन अवस्थाका आकर्षक प्रस्तुतीहरुका रुपमा रहेको पाइन्छ । यस्ता प्रस्तुतीहरुको प्रशारण र वितरणको शैली र तरिका केही फरक भएतापनि कला र श्रृजनाका यी विधाहरुको अभ्यास लामो समयदेखि नै रहँदै आएको पनि देखिन्छ। यस्ता गतिविधिहरु ऐतिहासिक समयमा प्रविधिरहित रुपमा समाज, गाँउ र समुदायमा मौलिक र प्राकृतिक रुपमा प्रस्तुत हुने गरेकोमा आधुनिक समयमा भएको प्रविधिको विकासमार्फत आकर्षक ढङ्गबाट सहज र कलात्मक रुपमा प्रस्तुती हुने गरेको छ । नेपालमा चलचित्रको विकासमा वर्तमान समयसम्म आइपुग्दा अन्तराष्ट्रिय चलचित्र उद्योगसँग प्रतिष्पर्धा गर्न सक्षमता बढ्दै गएकोे छ र कतिपय चलचित्रहरु अन्तराष्ट्रिय स्तरका पुरस्कार र उपाधी प्राप्त गर्न सफल भएको पनि देखिन्छ । तर, विगत केही दशकअघिसम्म मात्र पनि नेपालमा चलचित्रको क्षेत्र निश्चित दायरामा रही साधनश्रोतको सीमित उपलब्धताबाट सञ्चालित रहेको थियो । यस अर्थमा, चलचित्रसँग सम्बन्धित कलाकारहरुले वर्तमान अवस्थासम्म आईपुग्दा नेपालको चलचित्र उद्योगलाई स्थापित गर्न निकै मिहिनेत, समर्पण र परिश्रम गर्नुभएको छ । यस अवसरमा नेपालको चलचित्र क्षेत्रमा लामो समयदेखि अनवरत क्रियाशील सबै कलाकार महानुभावहरुलाई उहाँहरुको योगदान र निरन्तरको साधनको उच्च कदर गर्न चाहन्छु ।
मानवजीवनमा प्रत्यक्ष रुपमा अपनाउन वा व्यक्त गर्न नसकिने कतिपय विषयवस्तु हुन् वा समाजमा भएका वा प्रचलनमा रहेका अभ्यासका बारेमा हुन् चलचित्रले मनोरञ्जन, जानकारी र आमजनसमुदायमा सचेतना विस्तारको कार्य एकैपटक गर्न र गराउन सफल भएको देखिन्छ । यसकारण, कलात्मक प्रस्तुतीसहित प्रशारण हुने चलचित्र समाजको जीवन्त प्रतिविम्ब हो भन्ने मलाई लाग्दछ । त्यस्तै, चलचित्रका कलाकारहरु समाजका सक्रिय सुधारक र मनोरञ्जन प्रदायक सामाजिक अभियानकर्ताका रुपमा मैले मान्ने गरेको छु । तसर्थ, चलचित्र र कलाकार देशमा सँधै विशेष स्थान र भूमिका भएको अपरिहार्य क्षेत्रका रुपमा आज विकास भएको छ, जुन कुरा हामी सबैका लागि सुखद अवस्था पनि हो । नेपालमा चलचित्र क्षेत्रमा भएको विकासले आगामी दिनमा प्रशस्त सम्भावना बोकेको देखिन्छ र यस क्षेत्रलाई समाजमा प्रतिष्ठित, मर्यादित र व्यावसायिक क्षेत्रका रुपमा सबैले सम्मान गरेको अवस्था पनि छ । तथापि, सुधार र नवीन योजनाका सम्भावना सँधै रहन्छ । चलचित्र क्षेत्रको सुधार र सँस्थागत विकासमा विगतमा राज्यले गर्दै आएको सहयोग र प्रबद्र्धनात्मक कार्यलाई निरन्तरता दिँदै यस क्षेत्रको विकासमा आवश्यक सहयोग सरकारले निरन्तर जारी रहने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us