काठमाण्डुमा पेट्रोलपम्प बन्दको प्रभाव परेन

काठमाण्डु टुडे २०७० भदौ ३० गते ३:०७ मा प्रकाशित

काठमाण्डु, ३० भदौ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत १४ विद्यार्थी संगठनले आइतबार देशभरका पेट्रोलपम्प बन्द आह्वान गरेका छन् । काठमाण्डुमा भने पेट्रोलपम्प बन्दको प्रभाव परेको छैन । काठमाण्डु उपत्यकाका अधिकांश पेट्रोलपम्पहरुबाट इन्धन विक्री वितरण भैरहेको व्यापारीहरुले बताएका छन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबारबाट तीन दिनसम्म राजधानीसहित देशभरका पेट्रोलपम्प बन्द गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष जागृत रायमाझीले काठमाण्डु टुडेलाई जानकारी दिए । रायमाझीले समस्या समाधानको प्रयासमा वार्तामा बस्न आफूहरुले गरेको आग्रहमा सरकारपक्ष उदाशीन देखिएकाले बाध्य भएर पेट्रोलपम्प बन्द गर्न लागिएको बताए । सरकारले चाडपर्वको मुखमा उपभोक्ताको ढाड सेकिने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनले दिए ।

आयल निगम सञ्चालक समितिको मंगलबार राति बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us