चुनावको मिति सार्न काँग्रेस सकारात्मक

काठमाण्डु टुडे २०७० भदौ २९ गते ११:४१ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २९ भदौ–आगामी चुनावमा सहभागी हुन नेकपा–माओवादीले राखेको चार बुँदे प्रस्तावलाई नेपाली काँग्रेसले स्वागत गरेको छ । विद्रोहको कुरा छाडेर चुनावमा आउन लचक हुनु सकारात्मक भन्दै काँग्रेसले माओवादीले राखेका प्रस्तावमा छलफल गर्न तयार रहेको बताएको छ ।

शनिबार विहान सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पदाधिकारी र काठमाण्डुमा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले माओवादी चुनावमा आउन तयार भए मंसिर चार गतेको चुनाव केही दिन पछि सार्न तयार रहने निर्णय गरेको छ । बैठकले माओवादीले राखेको प्रस्ताव अनुसार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने विषयमा पनि छलफल गर्न तयार रहने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा बसेको सर्वदलीय बैठकमा माओवादीले चैतमा चुनाव सार्नुपर्ने, मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, गोलमेच सम्मेलनबाट संविधानका विवादित विषयमा टुंगो लगाउनुपर्ने लगायत चार बुँदे प्रस्ताव राखेको थियो । माओवादी प्रस्तावमा मुख्य दलले शनिबार धारणा बनाउने र आइतबार पुनः संयुक्त बैठक बस्ने सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us