
चितवन, २९ भदौ–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन । युवा संघले सुरक्षाको विषयलाई गम्भिरताका साथ लिएको उल्लेख गर्दै बस्नेतले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको जानकारी दिएका हुन ।
बस्नेतले असुरक्षाको वातावरण सिर्जना भएमा आधा घण्टा भित्रमा मोबाईल फोर्स २ सय मोटरसाईकल जम्मा गर्न सक्ने अवस्थामा हुने बताए । रिपोटर्स क्लव चितवन शाखाले शनिवार भरतपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष बस्नेतले केन्द्रमा ५ सय र जिल्ला तहमा २ सय जनाका दरले प्रत्येक क्षेत्रमा कार्यदल गठन गरिने बताए । ‘पहिलेको निर्वाचनमा जनतामा मनोवैज्ञानिक त्रास थियो,जसका कारण माओवादी पहिलो पार्टी बन्यो’उनले भने‘फेरी त्यस्तो वातावरणका लागि माओवादी सकभर आतंक,नभए पैसाको आतंक फैलाउने रणनीतिमा छ, हामी त्यसो हुन्न दिन्नौं ।’
चितवनमा शनिवारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाले संविधानसभाको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने रणनीतिक योजना तय समेत गर्ने अयक्ष बस्नेतले बताए । विगतका निर्वाचनमा एमालेले आफ्नो मतको सुरक्षा गर्न नसक्दा तेस्रो पार्टी भएकाले अव भने त्यसो हुन नदिने उनको भनाई थियो । चुनाव अगाडि एमालेमा २ लाख ५० हजार कार्यकर्ता प्रवेश गराउने समेत दावी उनले गरे । अध्यक्ष बस्नेतले एमाले कार्यकर्ता माथि अन्य दलहरुले पटक–पटक आक्रमण गरेकाले अबको निर्वाचनमा त्यस्ताको शसक्त प्रतिकार गर्ने समेत बताए । मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनमा युवाहरुलाई अधिकतम उपयोग गर्ने र त्यसको स्वरुप परिवर्तन गरिने बस्नेतको भनाई छ ।
चितवनमा आइतवार युथ फोर्स घोषणापछि प्रत्येक बुथमा युथफोर्सलाई खटाईने उनले बताए । आगामी संबिधानसभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन व्यापक युवा परिचालन गर्ने उनको भनाई छ । ‘युथ फोर्सले पहिले मुखले सम्झाउ“छ’उनले भने‘नमानेमा हात खुट्टाले सम्झाउन पनि तयार छ ।’ निर्वाचनको प्रचार–प्रसारमा यसपटक आधुनिक शैंलीमा लाग्ने समेत बताए । त्यसका लागि आफ्नो अफिसियल साइट, इमेल, इन्टरनेट र सामाजिक सन्जालहरु बढि प्रयोग गरिने र पुराना शैलीलाई निरन्तरता दिइने उनले बताए ।