वैदेशिक रोजगार व्यवसायी आन्दोलित

काठमाण्डु टुडे २०७० भदौ २८ गते १०:४० मा प्रकाशित

Manpower-Companyकाठमाण्डु, २८ भदौ –अध्यागमन कार्यालयको ढिलाइका कारण व्यवसाय प्रभावित भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । वैदेशिक रोजगार ब्यवसायी हकहित संघर्ष समितिले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफ्ना ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

समितिले भीसा र राहदानी मात्र हेरेर कामदार पठाउने व्यवस्था गर्नुपर्ने, भीसाको भाषामा फरक देखिएको अवस्थामा एजेन्सी र रोजगारदाता कम्पनीको लिखित ग्यारेन्टीमा अन्तिम स्वीकृतिको व्यवस्था मिलाउनु पर्ने, ऐनविपरित दूतावासको एटेस्टेसनको बाध्यकारी व्यवस्था हटाउनु पर्ने, कुनै कामदार जान नसक्ने भए त्यसको ठाँउमा अर्कालाई सहज रुपमा पठाउन पाउनु पर्नेलगायत माग राखेको छ । त्यस्तै, मलेसियाको केएनडीको म्याद १ वर्षसम्म हुने भए पनि भीसा स्टाम्प भइसकेपछि भिसाको म्याद रहेसम्म अन्तिम स्विकृति दिनु पर्ने, स्विकृत र भीसा अलग अलग कम्पनिको भए पनि ती कम्पनीहरुको सम्बन्ध भएको पत्रको अमाधारमा स्वीकृती दिनुपर्ने, वैदेशिक रोजगार विभागमा पेण्डिङ रहेका फाइलहरु एजेन्सीको ग्यारेन्टीमा स्वीकृत गर्नुपर्ने, यूएईको भीसामा अनलाइन हेरेर श्रम स्वीकृति दिनुपर्ने, स्वीकृति र भीसामा फरक देखिए योग्यता अनुसार स्वीकृति दिनुपर्ने र मलेसियामा सुरक्षा गार्ड खुल्ला गर्नुपर्ने लगायत मागहरु पनि उनीहरुले राखेका छन् ।

गत भदौ २६ गतेदेखि विभाग घेराउ लगायतका आन्दोलनका कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार माग पूरा गराउन दबाब दिने उद्देश्यले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर माग पत्रसमेत बुझाएका छन् ।

संघर्ष समितिका संयोजक विमल ढकालले वैदेशिक रोजगार ब्यवसायी संघ र त्यसका अध्यक्ष बलबहादुर तामाङले व्यवसायीहरुको हितमा काम गर्न नसकेकाले आफूहरु अलग्गै संगठित भएर आन्दोलन गर्न बाध्य भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us