राजदूतले कुटनीतिक मर्यादा नाघे : माओवादी

काठमाण्डु टुडे २०७० भदौ २८ गते १०:२६ मा प्रकाशित

maoist flagकाठमाण्डु, २८ भदौ – नेकपा–माओवादीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन नेपालस्थित राजदूतहरुको ध्यानाकर्षण गराएको छ ।
युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदूतहरुले कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलन विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणा गरेको माओवादीको आरोप छ ।

प्रवक्ता पम्फा भुसालले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनता राष्ट्रिय स्वाधीनता र अग्रगमनका लागि संघर्षरत छन् । संघर्षका सामान्य र सहज रुपहरुबाट आवाज नसुनेपछि शान्तिपूर्ण आन्दोलनको उच्चतम रुप बन्द र हड्ताल गर्न बाध्य छन् । यो बाध्यताका विरुद्ध युरोपियन युनियन लगायत विभिन्न राष्ट्रका राजदुतहरुले आफ्नो कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलनको विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
साथै भारतीय कतिपय सञ्चार माध्यम र नेताहरुले गौतम बुद्ध भारतमा जन्मिएको भनेर गलत प्रचार गरेकोप्रति पनि माओवादीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले यस्ता गलत प्रचार गर्ने काममा संलग्नलाई नेपाली जनता र राष्ट्रसामु क्षमा आग्रह गरेको छ । ‘नेपाली जनताले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनता र मुक्तिको आन्दोलनलाई सकारात्मक निष्कर्ष दिनुपर्नेबेलामा गैरजिम्मेवार र विषादीपूर्ण अभिव्यक्ति रोक्न तथा  नेपाली जनता र राष्ट्रसामु क्षमा माग्न हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us