निर्वाचन चैतमा सार्न वैद्यको प्रस्ताव

काठमाण्डु टुडे २०७० भदौ २९ गते ६:०५ मा प्रकाशित

काठमाण्डु, २८ भदौ–  मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन चैतमा सार्न प्रस्ताव गरेको छ ।
presidatn-leader-vet einalराष्ट्रपति रामवरण यादवको अग्रसरतामा शुक्रबार शीतलनिवासमा भएको सर्वदलीय बैठकमा नेकपा–माओवादीले चुनाव चैतमा सार्नुपर्नेसहितको चारबुँदे सर्त अघि सारेको हो । प्रस्तावमा राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने, वर्तमान सरकारको विघटन गरी अन्तरिम संविधान–२०६३ को धार ३८ (१) अनुसार दलीय नेतृत्वमा सहमतीय सरकार गठन गरिनुपर्ने उल्लेख छ ।

प्रस्तावमा सरकारको नेतृत्वबारे गोलमेच सम्मेलनले सहमतिमा निर्णय लिने भनिएको छ । प्रधानन्यायाधीशबाट राजीनामा दिएको अवस्थामा भने खिलराज रेग्मीलाई नै सरकारको नेतृत्व दिन सकिने प्रस्ताव उसको छ । यस्तै प्रस्तावमा भावी संविधानका आधारभूत अन्तरवस्तुबारे गोलमेच सम्मेलनले टुंगो लगाउनुपर्ने र निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने माग वैद्यको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले समय अभावका कारण मंसिरमा निर्वाचन हुन नसक्ने भएकाले चैतमा सार्न उपयुक्त हुने प्रस्ताव आफूहरुले गरेको बताए । उनले निर्वाचन, सरकारलगायत सबै विषयको छिनाफानो गोलमेच सम्मेलनमार्फत लगाउनुपर्ने अडानमा आफूहरु रहेको स्पष्ट गरे ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकार परिवर्तन र निर्वाचन पर सारिए मुलुक थप जटिलतामा फस्ने भएकाले वैद्य माओवादीको मागअनुसार चैतमा निर्वाचन हुन नसक्ने बताए । वैद्य माओवादी सहमतिमा आए मतदाता नामावली संकलन, दल तथा उम्मेदवारी दर्ताका लागि केही दिन समय थप्न सकिने उनको भनाइ थियो । निर्वाचन सार्दा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने  भएकाले तोकिएकै मितिमा निर्वाचन सफल पार्नुपर्नेमा उनको जोड छ । एमाले अध्यक्ष झलनाथ खनालले आफूहरुले ४ मंसिरमा निर्वाचन गर्नुको विकल्प नरहेकोबारे स्पष्ट कुरा राखेको जानकारी दिए ।

गोलमेच सम्मेलनतिर लागे निर्वाचन पनि नहुने र सहमतिको वातावरण पनि बिग्रने भएकाले त्यस्ता विषय नउठाउन उनले वैद्य माओवादीलाई आग्रह गरे । एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पोखरा बैठकबाट निर्वाचन बहिस्कारको नीति पारित गरेको नेकपा–माओवादी पछिल्लो समय निर्वाचनका लागि लचक भएको दाबी गरे । उनले वैद्य पक्षले राखेका माग विगतका तुलनामा सकारात्मक रहेको उल्लेख गरे । बैठकको सुरुआतमा राष्ट्रपति रामवरण यादवले सबैको सहमतिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै सहमति निर्माणका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने आफू तयार रहेको बताएका थिए ।
बैठक आइतबार फेरि शीतलनिवासमा बस्ने तय भएको नेताहरुले बताएका छन् ।

यस्तो छ बैद्यको प्रस्ताव 

 १. राष्ट्रिय सहमतिको लागि गोलमेच सभाको आयोजना गरिनुपर्ने । गोलमेच सभामा संविधानसभाका सदस्य रहेका दलहरुका साथै आन्दोलनरत दलहरुलाई सहभागी गराइनुपर्ने । गोलमेच सभाको निर्णय प्रक्रिया सहमतिको आधारमा हुनुपर्ने ।
२. वर्तमान सरकारको सट्टा संविधानको धारा ३८ (१) अनुसारको दलीय सरकार गठन गरिनुपर्ने । दलीय सरकारको स्वरुप र त्यसको नेतृत्व बारेमा छलफल गरी सहमति कायम गर्न सकिने । वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानन्यायाधीश ज्यूले प्रधानन्यायाधीश पदबाट राजिनामा दिन तयार हुनुभएमा वहाँकै नेतृत्वमा पनि दलीय सरकार गठन गर्न सकिने छ ।

३. निर्वाचनमा सबै दलहरुलाई सहभागी गराउन राष्ट्रिय सहमतिमा संविधानसभाको दोस्रो निर्वाचन २०७० साल चैत्र महिनामा सार्ने ।
४. नयाँ संविधान निर्माणका मूलभूत अन्तर्वस्तुहरु, नयाँ संविधान निर्माणको मार्गचित्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत १८ बुँदामा उठाइएका विषयहरु गोलमेचसभामा छलफलको कार्यसूची बनाई आवश्यक निर्णय गर्ने ।
मिति : २०७० भदौ २८ गते
नेकपा–माओवादी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us