ईयूको टोली असोज दोस्रो साता नेपाल आउने

काठमाण्डु टुडे २०७० भदौ २८ गते ९:३२ मा प्रकाशित

eu-flagकाठमाण्डु, २८ भदौ–आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न युरोपियन युनियन (ईयू) को टोली असोज दोस्रो साता नेपाल आउने भएको छ । नेपालस्थित युरोपियन युनियनले शुक्रबार विज्ञप्ति जारी गरी यसको जानकारी दिएको हो । विज्ञप्तिमा निर्वाचित संविधानसभाले प्रजातान्त्रिक र समावेशी संविधान बनाउन अहम भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
राजदूतको कार्यकाल समाप्त
यसैबीच नेपालका लागि युरोपियन युनियनका राजदुत डा.अलेक्जेन्डर स्पाचिज आफ्नो कार्यकाल पूरा गरी आउँदो सोमबार ब्रसेल्स फर्कदै छन् । सन् २००९ मा डा. स्पाचिजलाई नेपालका लागि पहिलो पूर्ण मान्यता प्राप्त आवसीय राजदूतका रुपमा नियुक्त गरिएको थियो ।

राजदूत स्पाचिज दक्षिण एशियाली सहयोग संगठन सार्कका लागि युरोपियन युनियनका प्रथम प्रतिनिधि पनि हुन् । डा.स्पाचिजको नियुक्ति पछि काठमाडौंस्थित युरोपेली आयोगको शिष्ट मण्डलको कार्यालय, युरोपियन युनियनका सबै संस्थाहरुलाई प्रतिनिधित्व गर्ने युरोपियन युनियनको पूर्ण मण्डलको कार्यालयमा रुपान्तरित गरिएको थियो ।
उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म नेपालको अत्यन्तै महत्वपूर्ण ऐतिहासिक घडीमा कार्यकाल पूरा गरी फर्कदै छु । नेपाल दोस्रो संविधान सभाको निर्वाचनको तयारीमा छ जुन अत्यन्तै महत्वपूर्ण छ किनभने निर्वाचित संविधान सभाले प्रजातान्त्रिक र समावेशी संविधान बनाउन अहम भुमिका खेल्नेछ ।’

उनले आफ्नो कार्यकालमा ईयू–नेपाल दुई पक्षीय सम्बन्ध प्रगाढ पार्न सहयोग गर्ने नेपाल सरकार र विविध क्षेत्रका प्रतिनिधिलाई धन्यवादसमेत दिएका छन् । ‘विकासका फाइदाहरु सिमान्तकृत र पिछडिएका वर्गहरुमा पुगोस् भन्ने हेतुले आँउदा दिनहरुमा ईयू तल्लो र माथिल्लो दुवै तहमा प्रजातान्त्रिक प्रणालीअनुरुप निर्वाचित संस्थाहरु बनाउन नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्व छ,’ राजदूत स्पाचिजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us