
काठमाण्डु, २८ भदौ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचन नहुन्जेलसम्म खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने ठोकुवा गरेका छन् । काठमाण्डुमा शुक्रबार भएको एक कार्यक्रममा उनले आफूहरुले पनि सम्झौता गरेर निर्वाचनको लागि बर्तमान सरकार स्विकार गरेकोले सरकार परिवर्तन गरेर निर्वाचन नगर्ने खेल कुनै पनि हालतमा स्विकार्य नहुने स्प्ष्ट पारे ।
उनले मंसिर ४ गतेकोलागि घोषित निर्वाचन सार्ने षडयन्त्र चलिरहेको भन्दै कुनै पनि हालतमा मंसिरमै निर्वाचन हुनु पर्नेमा जोड दिए । उनले समग्र मधेस एक प्रदेशको अडान दोहोर्याँदै उनले सुदूरपश्चिममा थरुहट र बाँकी जिल्लालाई अखण्ड सुदूरपश्चिम बनाए पनि मान्य हुने धारणा राखे ।
कार्यक्रममा गायक तथा सन्चारकर्मी रेशम चौधरी र सुनिल भट्टलाई महतोले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा चौधरीले राजनीति मार्फत् मधेसी, पहाडी र थारुबीचको मतभेद हटाउने दावी गरे ।
चौधरी फूलबारी एफएम कैलालीका प्रवन्धक हुन् । उनले एकदर्जन बढी राष्ट्रिय गीतमा स्वर तथा संगीत दिएका छन् । थारु गीत, लोकगीत र देउसी गीतहरुमा पनि उनले आफ्नो स्वर दिएका छन् ।