
जाजरकोट, २८ भदौ – बहुला कुकुरको टोकाइबाट जाजरकोटमा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे गाविस–१ का ५५ वर्षीय बलबहादुर थापा र उनकी २२ वर्षीया छोरी हरिकला छन् ।
रेबिजविरुद्धको भ्याक्सिन नलगाउँदा उनीहरुको मृत्यु भएको हो । रेबिज लागेको कुकुरले ढिमे गाविसमा एक दर्जन बढीलाई टोकिसकेको स्थानीयवासीको भनाई छ ।
स्थानीय बासिन्दा रेबिजविरुद्धको सुई लगाउन सदरमुकाम आए पनि जिल्ला अस्पतालमा सुई नहुँदा समस्या परेको बताइएको छ ।
पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता
यसैबीच खोटाङमा पहिरामा पुरिएर एक जनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा माक्पा–५ भदौरेकी २७ वर्षीया कमला आचार्य छिन् । उनकी आमा ६० वर्षीया राजकुमारी बेपत्ता भएकी छन् ।
बिहीबार खेतमा घाँस काट्न गएकोबेला पहिराले पुरिएर बेपत्ता बनेका आमाछोरीमध्ये उद्धारका क्रममा छोरी कमलाको शव फेला परेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । बेपत्ताको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । करिब दुई सय मिटर माथिबाट पहिरो झरेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय मानबहादुर कार्की, डम्बरबहादुर कार्की, जगतबहादुर कार्की र मीनबहादुर गिरीको खेतमा लगाइएको धानखेत बगाएको छ ।