शान्ति र बिकासका लागि स्थायी सरकार:प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ २८ गते ८:४५ मा प्रकाशित

Prachandaकाठमाण्डु, २८ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थायी सरकार आवश्यक रहेको बताएका छन् । स्थायी सरकारबिना मुलुकका अगाडि विद्यमान समस्याको समाधान सम्भव नरहेको उनको भनाइ छ ।

उनले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन पनि आमजनतालाई अपिल गरे । ‘देशको शान्ति, स्थायित्व र विकासका लागि स्थायी सरकार चाहिएको छ’ पार्टीनिकट नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको राष्ट्रिय सम्मेलनलाई शुक्रबार पाटनमा उद्घाटन गर्दै उनले भने, ‘त्यसका लागि हामीलाई बहुमत दिनुस् ।’ बलियो सरकार विना जनताको आकांक्षा पूरा गर्न नसकिने भएकोले परिवर्तन, प्रगति र संघियताको पक्षमा स्पष्ट बहुमत दिन सबै नेपालीलाई प्रचण्डले अपील गरे । अबको चुनावमा एमाओवादीले १ सय ८० सिट जित्ने केन्द्रीय समिति बैठकले निष्कर्ष निकालेको पनि प्रचण्डले दोहोरयाए ।  पछिल्लो समय आफूले पूर्वदेखि पश्चिमसम्मको भ्रमण गरेको र त्यसक्रममा एकीकृत माओवादीको पक्षमा जबर्जस्त जनलहर देखेको उनले बताए ।

प्रचण्डले आफूबाट अलग भएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउन तयार भए ४ मंसिरको निर्वाचन बढीमा एक साताका लागि पर सार्न सकिने उल्लेख गरे । उनले आफ्नो पार्टीले मंसिरमा निर्वाचन नचाहेको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताए । प्रचण्डले लचिलो भएर नेकपा माओवादीलाई पनि चुनावमा सहभागी गराउन पहल भैरहेको बताए ।  ‘वैद्यजीहरुलाई पनि चुनावमा सहभागी गराउन हामी लचिलो भएका छौं,’ प्रचण्डले भने‘उहाँहरु पनि चुनावमा आउनु हुन्छ भने चुनाव मंसिरको ५–१० गतेसम्म सार्न सकिन्छ ।’ तर, सहमतिको नाममा चुनावलाई नै प्रभावित हुने गरी कुनै सम्झौता नगर्ने उनले बताए । 

‘११ बुँदे र २५ बुँदे सहमति भएपछि असार मै चुनाव होस् भन्ने हामीले चाहेका थियौं तर, सर्यो । अब मंसिर चार गतेको चुनाव फेरि नसरोस् भन्नेमा छौं,’ प्रचण्डले भने । प्रचण्डले संविधानसभा चुनाव भएको ६ महिनाभित्र संविधानको खाका तयार पार्ने र एक बर्षभित्र नयाँ संविधान जारी गर्ने दावी गरे ।

कार्यक्रममा नेता बाबुराम भट्टराईले सामाजिक न्यायसहितको आर्थिक समृद्धि, पहिचानसहितको संघीयता र प्रगतिशील राष्ट्रवादका लागि आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरे । यसैगरी नेता नारायणकाजी श्रेष्ठले अबको चुनावमा एमाओवादीलाई सपष्ट बहुमत दिलाउन सबैपक्षलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us