प्रशासनमा एमाओवादीको धर्ना,पश्चिम नेपालमा ३३ दलको बन्द

काठमाण्डु टुडे २०७० भदौ २८ गते ६:१२ मा प्रकाशित

! DSC_2376काठमाण्डु २८ भदौ–एकीकृत नेकपा माओवादीले कार्यकर्ता पक्राउको विरोधमा काठमाण्डु उपत्यकालगायत देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । द्वन्द्वकालका घटनामा आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज र पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै एमाओवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा नेता देवेन्द्र पौडेल, झक्कु सुवेदी लगायत नेता-कार्यकर्ताले धर्ना दिएका थिए । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी द्वन्द्वकालका घटना किनारा लगाउने पूर्वसहमति विपरित एकतर्फिरुपमा आफ्ना कार्यकर्तालाई फँसाइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा पछिल्लोपटक रामप्रसाद अधिकारीलाई पक्राउ गरी कारवाही अघि बढाइएपछि सरकार समर्थित एमाओवादीले सरकार विरुद्ध नै आन्दोलन शुरु गरेको हो । अधिकारी हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । उनलाई पक्राउ गरेपछि माओवादीले गत २२ गते काठमाण्डु उपत्यका सहित, गोर्खा र चितवन जिल्ला बन्द गरेको थियो । तर, तिजको दरखाने दिन परेकाले मध्यान्ह बाह्र बजेपछि बन्द फिर्ता लिइएको थियो ।

गोलमेचसभाको माग गर्दै नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले शुक्रवार पश्चिमका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, सुर्खेत, जाजरकोट, डोल्पा,जुम्ला,मुगु,हुम्ला,कालिकोट, दैलेख, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ बन्द आब्हान गरेको छ । माओवादीको भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा पारसमणिका अनुसार शान्तिपूर्ण रुपमा बन्द भइरहेको छ ।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शुक्रवार काठमाण्डुको बहरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । विभिन्न पार्टीनिकट १४ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै निगम घेराउ गरेका हुन् । प्रदर्शन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । प्रदर्शनकारीले चुहावट र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्नुको साटो चाड पर्वको मुखमा पेट्रोलियम पदार्थको भाउ बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको बताए । अखिल क्रान्तिकारीका सचिव रामचन्द्रं अधिकारीले निगम मूल्यवृद्धिको निर्णय सच्याउन तयार नभए कडा संघर्षका कार्यक्रम ल्याउने तयारीमा संयुक्त विद्यार्थी संघर्ष समिति रहेको जानकारी दिए । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै पेट्रोलमा प्रतिलिटर पा“च तथा डिजेल र मट्टितेलमा ३÷३ रुपैया“ले मूल्य बढाउने निर्णय गरेको थियो । – तस्विर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us