राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डु टुडे २०७० भदौ २८ गते ३:१९ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– राष्ट्रपति रामवरण यादवको अग्रसरतामा संविधानसभा निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।
shital niwasबैठक अपराह्न २ बजे  शीतलनिवासमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको निर्णयअनुसार सरकारले संविधानसभा सदस्य संख्या ६०१ बनाउने गरी संविधान संशोधन तयारी गरिरहेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले तोकिएकै मितिमा संविधानसभा निर्वाचन सफल पार्न स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा संविधानसभा निर्वाचन सफल पार्न बैठक डाकिएको बताए ।
उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले सहमतिका लागि  मध्यस्थता गरिदिन राष्ट्रपतिलाई आग्रह गर्दै आएका थिए । बैठकमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु र संविधानसभामा प्रतिनिधित्व गरेका र अस्तित्वमा रहेका दलका नेतालाई बोलाइएको छ ।

राष्ट्रपतिको प्रयासलाई सकारात्मक भनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि बैठकमा सहभागी हुनेछ । पछिल्लो पटक वैद्य माओवादीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए ४ मंसिरको निर्वाचनमा सहभागी हुने धारण बाहिर ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us