
काठमाण्डु, २८ भदौ– वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ ।
गन्धर्वको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आज बिहान निधन भएको हो । गन्धर्व लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । तनहुँ चिसापानीका स्थायी बासिन्दा गन्धर्वले ३२ वर्षसम्म रेडियो नेपालमा गायक तथा वाध्यबाधकका रुपमा काम गरेका थिए । स्वरका धनी गन्धर्वले बल्ल पर्यो निरमाया माकुरी जालैमा, गाउँभरि हल्ली र खल्ली, वनको भलाएलगायत करिब दुई सय कालजयी गीत गाएका छन् ।
गन्धर्वको पाथिर्व शरीर अन्तिम श्रद्धाञ्जलीका प्रज्ञा भवन कमलादीमा राखिएको छ । उनको परम्पराअनुसार पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।