एमाओवादीका ६३ बर्षे नेता शेरचनले गरे विहे (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० भदौ २८ गते १:३९ मा प्रकाशित

sathi sonam (11)काठमाण्डु, २७ भदौ – एमाओवादीका नेता शशी शेरचन (स्वनाम साथी)ले ६३ वर्षको उमेरमा विवाह गरेका छन् त्यो पनि आफूभन्दा आधा उमेरकी किरण गौतमसँग । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार शेरचन र गौतमको विवाह भएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू डा.बाबुराम भट्टराईलगायत दुई दर्जन भन्दा बढी केन्द्रीय नेताहरूको उपस्थितिमा वैवाहिक समारोह सम्पन्न भयो । सो समारोहमा उपस्थित एमाओवादी अध्यक्ष प्रचण्डले नवविवाहित जोडीलाई बधाई दिँदै दाम्पत्य जीवनको शुभकामना दिएका थिए । शुभकामना लगत्तै अरु नेताहरूले रातो अविर र खादा लगाइदिँदै नवविवाहित जोडीलाई शुभकामना दिएका थिए ।

sathi-sonam-(10)

प्रेम, विवाह र विवाहबारे आम मानिसले भिन्दै दृष्टिकोण राख्दै आएका नेता शेरचनले आफूलाई विवाह पनि नगरेको र कुमार पनि नरहेको बताउँदै आएका थिए । उनी गौतमसँग विगत १० वर्षदेखि सँगै बस्दै आए पनि विहे भने गरेका थिएनन् । केही समय पहिले उनीहरूको बसाइबारे पार्टीमा उजुरी परेको थियो । पार्टी कार्यालयमा उजुरी परेपछि शेरचन र गौतमले पार्टीलाई नै विवाहका लागि स्वीकृति मागेका थिए । उनीहरुको माग बमोजिम एमाओवादीको केन्द्रीय कार्यालयको बुधबारको बैठकले विवाहको अनुमति दिएको थियो ।

sathi sonam (3)

‘हामीले विगत दश वर्षदेखि सँगै बस्दै आएको र यसलाई औपचारिक विवाहका रूपमा अनुमति दिन भनेर पार्टीमा निवेदन दिएका थियौं, पार्टीले त्यसलाई स्वीकार ग¥यो,’ नेता शेरचनले  भने, ‘पार्टीको स्वीकृतिमा नै आज वैवाहिक समारोह सम्पन्न भएको छ । हामी असाध्यै खुसी छौं ।’ यसैगरी पेशाले बायो इन्जिनियर रहेकी दाङकी २९ बर्षीया गौतमले भनिन्, ‘कम्युनिस्ट आन्दोलनमा लागेर लामो समय बिताएका नेतासँग विवाह गर्न पाउनु मेरो भाग्य हो, म असाध्यै खुसी छु ।’

एमाओवादीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख रहेका नेता शेरचन मिर्गौला रोगबाट पीडित छन् । उनको हप्तामा दुईपटक डाइलाइसिस गर्नुपर्छ । गौतमले शेरचनको स्वास्थ्य हेरचाह गर्दै सँगै बस्दै आएकी थिइन् । नेता कार्यकर्ताको सम्बन्धलाई उनीहरुले श्रीमान श्रीमतीको सम्बन्धमा परिणत गरेका हुन् ।

sathi sonam (4)

‘मुलुक, जनता र क्रान्ति भन्दा मेरो कुनै अन्यत्र ध्यान छैन, म राजनीतिमा लागेको सन्यासी हुँ, मलाई विवाहका लागि पे्ररित गर्ने सबैलाई धन्यवाद,’ नेता शेरचनले भने । गौतमले आगामी दिनमा अझ प्रतिवद्ध भएर नेता शेरचनको राजनीतिक कर्मलाई सहयोग गर्ने बताइन् । गौतम एमाओवादी केन्द्रीय सदस्य जीवन गौतमकी वहिनी हुन् ।

Shashi-Sherchan-and-Kiran-Gautam

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us