
काठमाण्डु, २८ भदौ–चुनावको तयारीबारे छलफल गर्न राष्ट्रपति डा. रामवरण यादवले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउसो २ बजे शीतलनिवासमा बस्ने छ ।
मोहन वैद्य नेतृत्वको माओवादीलाई चुनावमा सहभागी गराउन सरकार र राजनीतिक दलको प्रयास असफल भइरहेकाबेला राष्ट्रपतिले आह्वान गरेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादीसमेत बैठकमा सहभागी हुनेछ । माओवादी सचिव देव गुरुङले सर्वदलीय बैठक आह्वान हुनुलाई सकारात्मक भन्दै बैठकबाट समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
शितल निवासले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी, सद्भावना पार्टी लगायत दुई दर्जन दलका शीर्ष नेतालाई बैठकमा आउन पत्राचार गरेको थियो । शितल निवासबाट प्राप्त पत्रबारे ३३ दलीय मोर्चामा छलफल भएको थियो । मोर्चाले बैठकमा सहभागी हुन र आफ्ना अडान स्पष्टसँग राख्न अनुमति दिएको छ ।
यसअघि माओवादी लगायत सबै असन्तुष्ट दलहरुको माग अनुसार सर्वदलीय बैठक गर्न उच्चस्तरीय समितिले सरकारसमक्ष सिफारिस गरेको थियो ।