तीन दिन भन्दा बढी कुर्दैनौं : सापकोटा

काठमाण्डु टुडे २०७० भदौ २७ गते १२:३३ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, २७ भदौ– एकीकृत नेकपा माओवादीले नेकपा–माओवादीलाई अबको तीन दिनभन्दा बढी पर्खेर बस्न नसक्ने स्पष्ट पारेको छ । मंसिर ४ को निर्वाचनको लागि मतपत्र छाप्ने लगायतका विषयमा समय घर्किदै गएकोले अब धेरै दिन पर्खेर बस्न सक्ने अवस्था नरहेको उसको तर्क छ ।

काठमाण्डुमा विहीबार भएको साक्षात्कारमा एमाओवादी प्रवक्ता अग्नी सापकोटाले भने, ‘निर्बाचन आयोगले समय घर्किंदै गएको बताएकाले अब माओवादीलाई तीन दिनभन्दा बढी कुर्न सकिदैन ।’
उनले माओवादी नेतृत्व विचलनमा रहेकोले निर्वाचन र सहमतिको पक्षमा निर्णय गर्न नसक्ने ठोकुवा समेत गरे । सापकोटाले भने, ‘नेकपा–माओवादी चौबाटोमा उभिएको छ । कुन बाटोमा जाने भन्ने कुरामा उ अन्यौलमा छ । हामीले चुनावमा ल्याउन धेरै प्रयास गर्यौं तर यतिवेला आएर हजारौं सहिदको अपमान गर्दै संविधानसभा बहिस्कार गर्ने कुरा क्रान्तिकारी हुन सक्दैन ।’

मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसँग विचार मिल्ने भएकोले चुनावी तालमेलको संभावना रहेको बताउँदै सापकोटाले स्थानीय स्तरमा भने पहिचान सहितको संघीयता पक्षधरहरुसँग तालमेल हुन सक्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन आयोगले दल दर्ता गर्न मानुन्जेलसम्म नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुसँग वार्ता गर्न तयार रहेको स्पष्ट पार्दै निर्वाचनलाई रोकेर भने कसैसँग वार्ता नहुने बताए । संविधानसभाकै निर्वाचनकोलागि हजारौको रगत बगाएको माओवादीले अहिले बहिस्कारको कुरा गर्नु  हास्यास्पद भएको भन्दै उनले निर्वाचनको मिति र सरकार बाहेक सबै विषयमा सहमति गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए ।

यस्तै नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले मंसिरमा निर्वाचन हुने कुरालाई बटमलाईन मानेर असन्तुष्टहरुको सबै माग पूरा गर्न तयार रहेको स्पष्ट पार्दै माओवादी तयार भए केही दिन पर निर्वाचन समेत सार्न सकिने बताए ।

तपलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले मंसिरमा कसैले रोकेर निर्वाचन नरोकिने ठोकुवा गर्दै संविधानसभाको ऐजेण्डाकोलागि आएको माओवादी त्यस विरुद्ध जानु विडम्बना पूर्ण भएको जिकिर गरे ।  अरु दलजस्तै एमाओवादीमा पनि मधेसप्रति दृष्टिकोणमा समस्या भएको भन्दै यसपटकको निर्वाचनमा मधेसवादी दलहरुको गैर मधेसवादी दलहरुसँग कुनै पनि तालमेल र सहकार्य नहुने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us