माओवादीलाई खिलराज स्वीकार्र्य

काठमाण्डु टुडे २०७० भदौ २७ गते १२:३५ मा प्रकाशित

maoist flagकाठमाण्डु, २७ भदौ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए नेकपा–माओवादी आगामी चुनावमा सहभागी हुन तयार भएको छ । माओवादी सचिव देव गुरुङले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिएर दलहरुको सहमतिमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सरकार बनाए मंसिर ४ मा घोषित निर्वाचनमा सहभागि हुन आफूहरु तयार रहेको बताए ।

रिपोर्टर्स क्लव नेपालले विहीबार गरेको साक्षात्कारमा उनले भने, ‘हामी ब्यक्तीको विषयमा खुल्ला छौं । स्वतन्त्र वा दलको ब्यक्तिले नेतृत्व गर्ने भन्ने विषयमा हाम्रो कुनै अडान छैन । खिलराज जीलाई नै दलले आफ्नो प्रतिनिधिको रुपमा पेश गरे हामीलाई कुनै आपत्ति छैन । हाम्रो चाहना भनेको पार्टीको निर्णयलाई मान्ने ग्यारेन्टी हुनु पर्यो ।’

गुरुङले एकै ब्यक्तिलाई ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मा दिँदाको परिणाम सर्वोच्च अदालतले रेग्मी विरुद्धका १७ वटा रिट खारेजी भएको दावी गर्दै यस्तै अवस्था कायम रहे मुलुकमा अर्को निरकुंशता जन्मिने आशंका गरे ।

राष्ट्रपतिले शुक्रवारको लागि बोलाएको सर्वदलीय बैठक राष्ट्रिय सहमतिको यात्राको सुरुवातको रुपमा अघि बढोस् भन्ने चाहना ब्यक्त गर्दै गुरुङले आफूहरु बैठकमा सकारात्मक रुपमा सहभागि हुने बताए । उनले चार दलको संयन्त्र भन्दा विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संयन्त्र बनेमा धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले यथास्थितिको चुनावमा आफूहरु सहभागि नहुने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us