डेढ करोडका गाडी प्रदर्शनीमा

काठमाण्डु टुडे २०७० भदौ २६ गते ९:३१ मा प्रकाशित

nada auto show bizmandu 3

काठमाण्डु २७ भदौ–भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोमा डेढ करोड रुपैँयासम्मका गाडी प्रदर्शनमा राखिएको छ । नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन र जेम्स् इभेन्ट्सले आयोजना गरेको प्रदर्शनीमा राखिएको यो सबैभन्दा महंगो गाडी हो ।

ग्राहकले नयाँ मोडल र ब्रान्डको खोजी गरिरहेकाले सस्तो र महंगो दुवैथरीका गाडी प्रदर्शनमा राखिएको आयोजकले जनाएका छन् । सस्तोमा ८ ÷९ लाख रुपैंयासम्मका गाडी प्रदर्शनमा राखिएको छ । यस्तै डेढ लाख देखि ७ लाख रुपैँयासम्मका मोटरसाइकल पनि राखिएको आयोजकले बताएका छन् । प्रदर्शनीमा १० वटा ब्रान्डका दुईपाङग्रे र १५ वटा कम्पनीका चार पाङग्रे गाडी सहित वित्तीय संस्था, लुब्रिकेन्टस लगायतका एक सय भन्दा बढी स्टल छन् ।प्रदर्शनीमा विभिन्न कम्पनीले ल्याएका नयाँ सवारी साधन,  विशेष गरी कार र मोटरसाइकलमा छुटको अफर छन् ।

प्रदर्शनीलाई लक्षित गर्दै बैंकहरुले गाडी कर्जाको ब्याज घटाएका छन् । सानिमा र माछापुच्छे बैंकले ९.९९ प्रतिशत ब्याजमा कर्जा स्किम ल्याएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९ प्रतिशत ब्याजको स्किम ल्याएको छ । बैंकले गाडीका डिलरहरुसँग मिलेर ७.७५ प्रतिशत ब्याजमा अर्को स्किम पनि ल्याएको छ । विभिन्न गाडीका डिलरहरुले ग्राहकलाई सहुलियत दिने भएकाले बैंकले ७.७५ प्रतिशत ब्याजको स्किम ल्याएको हो । यस्तै नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ११ प्रतिशत ब्याजको स्किम ल्याएको छ । प्रभु विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि सस्तो ब्याजको गाडी स्किम ल्याएको छ ।प्रभु  बैंकले निजी गाडि खरिद गर्न चाहने व्याक्तिलाई लक्षित गरे १०.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत वार्षिक व्याजदरमा नयाँ अटो लोन सुरु गरेको हो । यो कर्जाको भुक्तानी अवधि आठ वर्ष हुने र यसले ग्राहकलाई मासिक किस्ताको भार कम पर्ने पनि बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।

योजना अन्तर्गत एकवर्ष पछि कर्जा चुक्ता गर्न चाहेमा अग्रीम भुक्तानी शुल्क नलाग्ने व्यवस्था पनि बैंकले गरेको छ । दसैंतिहारमा गाडीको माग बढि हुने भएकाले बैंक तथा वित्तीय संस्थाले मूख्य सिजनलाई लक्षित गरी नाडा अटो शोको अवशरमा ब्याज घटाएका हुन् । एभरेष्ट बैंकले ११ प्रतिशत ब्याजमा गाडी कर्जा दिइरहेको छ । हिमालयन बैंकले ११.२५ प्रतिशत, एनबी बैंकले १२ प्रतिशत, ग्रान्ड बैंक नेपालले १३ प्रतिशत, बैंक अफ काठमाण्डूले १३ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलले ११ प्रतिशतमा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ । एनएमबी, प्राइम कमर्सियल, जनता, कमर्ज एन्ड ट्रस्ट बैंक, लक्ष्मी, राष्ट्रिय बाणिज्य बैंक, कुमारीलगायतले पनि ११ देखि १३ प्रतिशत ब्याजमा गाडी कर्जा उपलब्ध गराउँदै आएका छन् । बैंकहरुसँग तरलता बढेका कारण ब्याज दर अझै घट्ने छ । नेपाल बैंकले साढे १० प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराइरहेको छ ।

गाडी र त्यसका पार्टपुर्जा, वीमा लगायत बारेमा जानकारी गराउन दक्षिण एशियाका अटोमोबाइल कम्पनीका आधिकारिक व्यक्तिहरु प्रत्यक्ष सहभागि छन् । प्रदर्शनीको बुधवार पहिलो दिन झण्डै ५ घण्टाको अवधिमा ४ हजार जनाले अवलोकन गरेका छन् । आउँदो आइतबारसम्म चल्ने प्रदर्शनीको ५० हजार जनाले अवलोकन गर्ने र १ अर्ब रुपैँयाको कारोबार हुने अनुमान गरिएको छ । प्रदर्शनीको अवलोकनका लागि एकसय ५० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीको हकमा भने ५० रुपैँया छुट दिइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us