विद्यार्थी संगठनबाट क्याम्पस अगाडि एक घण्टा चक्काजाम

काठमाण्डु टुडे २०७० भदौ २६ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– विभिन्न दल सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीसहित देशभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका छन् ।

chakkajamचाडपर्वको मुखमा उपभोक्ताको ढाड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै, एकीकृत माओवादी, काँग्रेस, एमाले, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेकपा माले निकट विद्यार्थी संगठनले क्याम्पस अगाडि एक घण्टा धर्ना दिएका हुन् । नेपाल आयल निगम सञ्चालक समितिले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको बहानामा मंगलबार राति पेट्रोलमा प्रतिलिटिर ५ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ बढाएको थियो । एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीका सचिव रामचन्द्र अधिकारीले एक महिनाको फरकमा दुईपटक मूल्यवृद्धि गरेकाले आन्दोलनमा उत्रिएको बताए ।

मूल्यवृद्धिबाट आमजनता आहात भएकाले निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे । निर्णय फिर्ता नलिइए अन्य विद्यार्थी संगठनसँग मिलेर कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी उनले दिए ।
नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लापिमछानेले मध्यरातमा मूल्यवृद्धि गरेर सरकारले जनतालाई मूल्वृद्धिको मारमा धकेलेको प्रतिक्रिया दिए । उनले बिहान सांकेतिक विरोध गरिएको र मालेनिकट अखिलको कार्यालय रातोपुलमा दिउँसो बस्ने विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us