६०१ का लागि संबिधान संशोधन गर्न सरकार तयार

काठमाण्डु टुडे २०७० भदौ २६ गते ९:४७ मा प्रकाशित

khilrajकाठमाण्डु, २६ भदौ– राजनीतिक सहमति अनुसार संबिधान संशोधन गर्न सरकार तयार भएको छ । उच्चस्तरिय राजनीतिक समितिका शिर्ष नेताहरुसँग बुधवार आफनो सरकारी निवासमा भएको छलफलमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राजनीतिक सहमति अनुसार संवैधानिक र कानुनी प्रक्रिया अघि बढाउने जवाफ दिएका हुन । राजनीतिक सहमति अनुसार संविधानसभा सदस्य संख्या पूर्ववत् रुपमा ६०१ नै कायम रहने गरी संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन नेताहरुले अध्यक्ष रेग्मीलाई आग्रह गरेका थिए ।

विभिन्न संवैधानिक निकायहरुलाई पूर्णता दिने र विभिन्न देशमा रिक्त राजदुत नियुक्त गर्ने विषयमा पनि मन्त्रिपरिषद् अध्यक्ष र शीर्ष नेताहरुबीच छलफल भएको थियो । अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमका अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्ती र राजदूतहरुको नियुक्तीका सम्बन्धमा आवश्यक थप छलफल गर्ने सझदारी भएको छ ।
निर्वाचन कार्यतालिका र मंसिर ४ गतेका लागि निर्धारित निर्वाचनको मितिमा असर नपर्ने गरी निर्वाचन प्रक्रियामा सहभागी हुन बाँकी दलहरुलाई पनि यथासक्य छिटो निर्वाचन प्रक्रियामा सहभागि गराउन अधिकतम् प्रयास गर्दै वार्ता र संवादलाई निरन्तरता दिन शीर्ष नेताहरुलाई अध्यक्ष रेग्मीले आग्रह गरेको गौतमले बताए ।
विभिन्न चरणको वार्ता र संवादमा नेकपा–माओवादी र उक्त दलसँग आबद्ध मोर्र्चाबाट मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनलाई सुनिश्चितता प्रदान गर्ने विषयमा स्पष्ट जवाफ नआएको र निर्वाचनको समय नजिकिँदै आएकाले निर्वाचन प्रक्रिया अघि बढाउन शिर्ष नेताहरुले अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएका थिए । शिर्ष नेताहरुले नेकपा–माओवादी र उक्त दलसँग आबद्ध मोर्चासँग भएका वार्ताबारे मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए । सरकार परिवर्तन र मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन मिति सार्ने बाहेक अन्य विषयमा लचिलो भएर प्रस्तुत हुँदा समेत उक्त मोर्चाबाट स्पष्ट जवाफ नआएको शीर्ष नेताहरुले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई जानकारी गराएको गौतमले बताए ।
mohan-baidya ‘वैद्यजीहरु भित्रैदेखि निर्वाचन चाहानुहुन्न भन्नेबारे मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गरायौं’, काँग्रेस नेता मीनेन्द्र रिजालले भने, ‘वार्तामा अल्मल्याएर मंसिरको चुनाव पछि सार्ने उहाँहरुको नियत प्रष्ट देखियो ।’ यसअघि मंगलबार बसेको समिति बैठकल वैद्य माओवादीले निर्वाचन नचाहेको निष्कर्षसहित वार्ताको ढोका भने खुलै राख्ने निर्णय गरेको थियो ।
चार दलका नेताले ४ मंसिरमै निर्वाचन गराउन आवश्यक संवैधानिक जटिलता व्यवस्थापन गर्न सरकारसमक्ष लिखित आग्रह गरेका छन् । रिजालका अनुसार संविधानसभामा प्रत्यक्ष ४२ र समानुपातिक ५८ प्रतशित सहभागिता गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई भनिएको छ ।
तमलोपा सह–अध्यक्ष रामेश्वर राययादवले सहमतिका नाममा धेरै समय खेर फाल्न नसकिने भएकाले अध्यक्ष रेग्मीलाई मंसिर ४ मै चुनाव सम्पन्न गर्न सम्पूर्ण तयारी अघि बढाउन आग्रह गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us