मन्त्रिपरिषद्का अध्यक्षको अमेरिका भ्रमण छोट्टियो

काठमाण्डु टुडे २०७० भदौ २५ गते १८:०३ मा प्रकाशित

ministerकाठमाण्डु २५ भदौ- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको ६८औं महासभामा सानो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छोटो समयका लागि आगामी असोज १० गते न्यूयोर्क जाने भएका छन्। 

संविधान सभा निर्वाचनको तयारीमा मुलुक जुटेका बेला लामो समय सरकार प्रमुख विदेश यात्रामा निस्कनु उपयुक्त नहुने ठहर गर्दै अध्यक्ष रेग्मीले अमेरिका भ्रमणलाई पाँच दिनमा सीमित गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले राससलाई बताए।

सरकारले आफ्नो सम्पूर्ण ध्यान संविधानसभा निर्वाचनमा केन्द्रित गरेकाले सुरक्षा व्यवस्थापनलगायत अन्य दैनिक कार्य सञ्चालन सहजरुपमा सम्पादन गर्न परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरे महासभामा सहभागी नहुने निष्कर्षमा पुगेको जानकारी पनि प्रवक्ता धितालले दिए।

अत्यावश्यक सरकारी पदाधिकारीमात्र टोलीमा समावेश हुने स्पष्ट गर्दै उनले भने ‘अध्यक्ष रेग्मी र गृह एवम् परराष्ट्रमन्त्रीबीच महासभामा भाग लिने नलिने सम्बन्धमा आज आपसी विचार विमर्श भयो। उहाँहरु चुनावप्रति अर्जुनदृष्टि लगाएको सरकारले त्यसलाई सफल पार्नुपर्ने महसुस गरी मन्त्री घिमिरे न्यूयोर्क नजाने निर्णयमा पुग्नुभयो, र अध्यक्ष रेग्मीको टोली पनि सानो हुनेछ।’

सरकार प्रमुखका तर्फबाट अध्यक्ष रेग्मीले महासभालाई असोज १२ गते सम्बोधन गर्ने तथा अन्य द्विपक्षीय एवम् अति जरुरी भेटवार्ताबाहेक अन्य कार्यक्रम रद्द गरेको उनले बताए। अध्यक्ष रेग्मी असोज १४ गते स्वदेश फर्कने योजना रहेको जानकारी पनि प्रवक्ता धितालले दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us