माओवादीले देशभरका जिल्ला प्रशासन कार्यालय घेर्ने

काठमाण्डु टुडे २०७० भदौ २५ गते ३:१२ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीले आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा पक्राउ गरिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । । maoist flag लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले अधिकारीको रिहाईको माग गर्दै आन्दोलन थाल्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक विरोधका कार्यक्रमअन्तर्गत आगामी २८ भदौमा देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा धर्ना दिने निर्णय भएको नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

उनका अनुसार बैठकले द्वन्द्वकालीन घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाउनुपर्नेमा पार्टीलाई बदनाम गराउने तथा आफ्ना कार्यकर्ता फसाउने उद्देश्यले पूरानै कानुनअन्तर्गत कारबाही गर्न लागिएकामा बैठकले आपत्ति जनाएको छ । बोगटीले द्वन्द्वकालका मुद्दा ब्युँताएर ४ मंसिरको संविधानसभा निर्वाचन प्रभावित नगर्न सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । जिल्ला प्रशासन घेराउपछि पुन: बैठक बसी अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बोगटीले बताए ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा गत २१ भदौमा प्रहरीले रामप्रसादलाई काठमाडौँबाट पक्रेको थियो । पक्राउको विरोधमा २२ भदौमा आह्वान गरेको काठमाण्डु उपत्यका, गोरखा र चितवन बन्द हिन्दू नेपाली महिलाको चाड हरितालिका जितका कारण माओवादीले स्थगन गरेको थियो ।
छोरा हत्याका आरोपीलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारी दम्पत्तिले रामप्रसाद पक्राउ गरेलगत्तै अनसन तोडेका थिए ।

 

 

 

 

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us