असोज पहिलोसातादेखि टिकट बुकिङ खुल्ने

काठमाण्डु टुडे २०७० भदौ २४ गते १६:१८ मा प्रकाशित

Busparkकाठमाण्डु, २४ भदौ – यातायात व्यवसायीले दसैं र तिहारकालागि असोज पहिलोसातादेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । दशैं, तिहारकालागि काडमाण्डुबाट बाहिरिने यात्रुहरुलाई सहजरुपले व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको हो ।

‘काठमाण्डुबाट बाहिरिने देशभरका यात्रुको चापलाई केन्द्रित गरी असोज पहिलो साताबाट अग्रीम बुकिङ खुला गर्ने तयारी भएको छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने ।

टिकट विक्रीमा कालोबजारी हुन नदिने उनले प्रतिबद्धता जनाए । अनियमितता रोक्न र सबै यात्रुहरुलाई सहज रुपमा टिकटको व्यवस्था गर्न शुरुदेखि नै अनुगमन गर्ने उनको भनाई छ । ‘हामीले ट्राफिक, यातायात व्यवस्था विभाग र व्यवसायी सम्मिलित टोली गठन गरेर अनुगमन गर्नेछौं,’ अध्यक्ष कर्माचार्यले भने ।

गत वर्ष टिकट बुकिङ सुरु भएको २ दिनमै टिकट सकिएको भन्दै कालोबजारीमा बेचेको पाइएको थियो ।

यसैबीच आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरुले भने एक महिना अघिदेखि नै टिकट बुकिङ खुल्ला गरिसकेका छन् । दसंै र तिहारका लागि हालसम्म ३५ प्रतिशत टिकट बुकिङ भैसकेको उनीहरुले बताएका छन् ।

हाल दसैं केन्द्रित टिकटतर्फ यती र बुद्ध एयरले सुगम क्षेत्रका लागि तथा सीता, तारा र गोमा एयरले दुर्गम क्षेत्रका लागि टिकट बुकिङ गराइरहेका छन् । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले इन्धन भाडा बढेको भन्दै यसपाली टिकटको मूल्य पनि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us