मधेशी नेतालाई पहाडमा चुनाव जिताउन चुनौती

काठमाण्डु टुडे २०७० भदौ २३ गते १६:३४ मा प्रकाशित

Bijayकाठमाण्डु २३ भदौ– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले मधेशी नेतालाई पहाडबाट जिताउन एकीकृत माओवादी,नेपाली काँग्रेस र नेकपा एमालेलाई चुनौती दिएका छन । एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अन्य ठूला दलका ठूला नेतालाई मधेशबाट चुनाव लड्ने नैतिक आधार नरहेको बताउदै गच्छादारले त्यस्तो चुनौती दिएका हुन । अध्यक्ष प्रचण्डले मधेशको एउटा क्षेत्रबाट संबिधानसभा निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।
‘गमछा र धोती लगाएर मधेशी जनताको मन जित्ने अवस्था गईसक्यो अब यस्ता नौटकीबाजहरुबाट मधेशी जनता सचेत छ’उनले भने‘मधेशी जनताले विश्वेश्वरप्रसाद कोइरालादेखि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधव नेपाललगायतलाई मधेशबाट जिताएर पठाएका छन् तर उहाँहरुले पहाडमा आजसम्म कुनै नेतालाई जिताएको इतिहास छैन ।’
मधेशमा चुनावी तालमेलका आवश्यकतामाथि जोड दिँदै मधेशवादी दलमा तालमेल नभए यसको फाइदा एमाओवादी, काँग्रेस र एमालेलाई हुने उनले बताए । सम्पूर्ण मधेशवादी दललाई एक हुन आग्रह गर्दै उनले महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भएपनि अन्य कुरामा सहमति हुन नसकेको जानकारी गराए । उनले ‘हामीले दुईटा बैठक गर्यौ, तालमेल गर्ने कुरा भएको छ तर कसरी के आधारमा गर्ने विषयमा टुगों लागेको छैन ।’ वार्ता र छलफलको अवस्था हेर्दा तालमेल हुने कुरामा उनले आशंका व्यक्त गरे । दुईसय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको जानकारी गराउँदै त्यसमध्ये ५० सीट जित्ने पक्का रहेको उनको दावी थियो । उनले जिल्लाहरुमा उम्मेदवार चयन गर्ने कार्य भइरहकेको बताउँदै असोज ३ गतेभित्र उम्मेदवारको नामावली ‘फाइनल’ गर्ने जानकारी दिए ।
मधेशी नेताहरु बद्नाम र भ्रष्टाचारी रहेको कुरा पुष्टि गर्न एमाओवादीका अध्यक्ष प्रचण्डलाई चुनौति दिएका छन । केही दिनपहिले मधेशी नेता शिरदेखि पाउँसम्म बद्नाम रहेको अध्यक्ष प्रचण्डको अभिव्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष गच्छदारले सो चुनौति दिएका हुन ।
मधेशी पत्रकार संघले आइतवार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गच्छदारले सत्ताका लागि जस्तोसँग पनि सहकार्य गर्ने एमाओवादी भ्रष्ट र स्वार्थी हो कि मधेशवादी यो कुराको जवाफ एमाओवादीले दिनुपर्ने बताए । ‘मधेशवादी दल बद्नाम र भ्रष्टाचारी हो भन्ने कुरा पहिला नै सोच्नुपर्ने थियो’उनले भने‘चाहिएको बेलामा मधेशीसँग सहकार्य गर्ने अनि आफ्नो स्वार्थ पूरा भएपछि बद्नाम गराउने माओवादीको यो प्रवृति सही होइन । त्यसैले उहाँलाई चुनौति दिन्छु कि यसलाई पुष्टि गरियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us