
नेपालगञ्ज, २३ भदौ–एकीकृत नेकपा माओवादीले सम्पत्ति छानविन आयोगको सिफारिस अनुरुप केन्द्रीय नेताहरुलाई कारवाही गर्ने भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीदिनभित्रै छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरी नेताहरुलाई कारबाही गर्ने बताएका हुन् ।
बाँकेको नेपालगञ्जमा आइतबार भएको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘मैले प्रतिवेदन हेरिसकेको छु, अब सार्बजनिक गरेर केन्द्रीय नेताहरुलाई कारबाही गर्छौं ।’ चुनावको मुखमा कारबाही गर्दा केही नेतालाई नमिठो लागे पनि कारबाहीबाट लाखौं खुशी हुने उनको भनाई छ ।
शान्ति प्रकृयामा आएपछि पार्टीका नेताहरु रातारात धनी भएको भन्दै गतबर्ष काठमाण्डुमा भएको सातौं बिस्तारित बैठकमा कार्यकर्ताहरुले आलोचना गरेका थिए । कार्यकर्ताको माग अनुसार माओवादीले तत्कालीन स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा नेताहरुको सम्पत्ति छानविन समिति गठन गरेको थियो । समितिले छानविन प्रतिवेदन पार्टीलाई बुझाए पनि सो प्रतिवेदन अझै गोप्य राखिएको छ ।
यसैबीच एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले जनयुद्धका घटना ब्यूँताएर आफूहरुलाई घेराबन्दी गर्न खोजिएकाले डटेर सामना गर्न सबै कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । जनयुद्धका सहिद सुरेश वाग्ले ‘बासु’को स्मृति दिवसको अवसरमा आज केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित स्मृति सभालाई संबोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
वाग्लेलाई २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।