कृष्णप्रसादको हत्या आरोपीलाई १० दिन म्याद थप

काठमाण्डु टुडे २०७० भदौ २३ गते ७:४२ मा प्रकाशित

चितवन, २३ भदौ–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका एमाओबादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ । म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय चितवनले रामप्रसादलाई आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतमा १० दिन म्याद थपेर अनुसन्धान प्रकृया अघि बढाइसकेको जिल्ला प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए ।

कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा गत शुक्रबार प्रहरीले रामप्रसादलाई पक्राउ गरेको थियो । उनी काठमाण्डुमा पक्राउ परे पनि चितवनमा हत्या भएकोले उतै लगिएको हो ।

आफ्ना छोराको हत्यामा संलग्न भएकालाई पक्राउ गर्न माग गर्दै अनशन बसेका कृष्ण प्रसादका आमा–बुवाले रामप्रसाद पक्राउ परेपछि अनशन फिर्ता लिएका छन् । कृष्ण प्रसादका आमा गंगामाया र बुवा नन्द प्रसादले ४६ दिनपछि शनिबार मध्यराती अनशन तोडेका हुन् ।

एकीकृत माओवादीले भने आफ्ना कार्यकर्ता पक्राउको विरोध गर्दै आएको छ । उसले शान्ति प्रकृया विथोल्ने षडयन्त्रले द्वन्द्वकालका मुद्दा व्युँताइएको बताउँदै आएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका मुद्दा मिलाउने पूर्व सहमतिविपरित विद्रोही पक्षबाट भएका घटनालाई मात्रै व्युँताइएको एमाओवादीको ठहर छ । माओवादीले कार्यकर्ता रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अधिकारीको २०६१ जेठ २४ गते पूर्वी चितवनमा अपहरणपछि हत्या भएको थियो । हत्याका अन्य आरोपीहरूको खोजीकार्य तीब्र पारिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us