कुख्यात अपराधका आरोपीलाई गरे नेताहरुले सम्मान

काठमाण्डु टुडे २०७० भदौ २३ गते ५:४६ मा प्रकाशित

Roj-Rana-Finalकाठमाण्डु, २३ भदौ – संगठित अपराध सन्चालन गरेको आरोप लाग्दै आएका रोज राणालाई नेपालका ठूला राजनीतिक दलका नेताहरुले सम्मान गरेका छन् । काठमाण्डुमा शनिबार आयोजित एक कार्यक्रममा एमाओवादी नेत्री हिसीला यमी र नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहले राणासहित पाँचजना युवालाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रम आयोजना गरेको थियो, विक्रम संवत् २०५८ सालमा स्थापित डायमण्ड क्लब काठमाण्डुले । कार्यक्रममा राणा सहित व्यवसायी दिरेकलाल श्रेष्ठ, नेपाल सदभावना पार्टीका प्रवक्ता गोविन्दा साह, पत्रकार पुञ्जिता प्रधान र विद्यार्थी नेता सुधीर शाहलाई ‘युथ लिडरसिप अर्वाड २०१३’ बाट सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै यमी र सिंहले युवावर्ग परिवर्तनको पर्याय भएको भन्दै आपराधिक पृष्ठभूमिका राणालाई अझ प्रोत्साहन थपे ।

को हुन् राणा ?

प्युठान स्याउलीबाङका सरोज थापा काठमाण्डु छिरेपछि रोज राणाको नामले परिचित भए । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाण्डुले २०६७ साउन २६ गते उनलाई जेल चलान गरेको थियो । त्यसअघि उनले असार ३२ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

गुण्डागर्दीबाट हैसियत भन्दा बढी सम्पत्ति कमाएको अभियोगमा पनि सम्पत्ति शुद्धिकरण विभागले राणालाई छानविनको दायरामा राखेको छ । सीआईबीले डेढ बर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदनमा अपहरण तथा धम्कीको आरोपमा राणा पटक–पटक पक्राउ परेको र अकूत सम्पत्ति कमाएको उल्लेख छ । यद्यपी राणाले यस कुराको खण्डन गर्दै आएका छन् ।

नांगा रेष्टुरेन्ट उनैको

काठमाण्डु उपत्यकामा एक दर्जन बढी रेष्टुरेण्टमा उनको लगानी छ । ति रेष्टुरेन्टमा नाङ्गा नाच देखाउने गरिएको प्रहरी बताउँछ । काठमाण्डुको ठमेलमा ‘शो गर्ल’ नामक रेष्टुरेन्ट खोलेर उनैले रेष्टुरेन्टमा नांगो नाच नचाउन शुरु गरेको प्रहरीको ठम्याई छ । त्यही रेष्टुरेन्ट व्यवसायबाट आफ्नो सन्जाल विस्तार गरेका उनी कुख्यात डन हुँदै फिल्म निर्माता तथा नायक समेत बने । उनले ‘टक्कर दुई मुटुको’, ‘दोस्ती’लगायत फिल्ममा लगानी गरेका छन् ।

प्युठानमा रहँदा आर्थिक अवस्था दयनीय रहेका राणा हाल करोडपति बनेको प्रहरी स्रोत बताउँछ । हालै नायिका सौजन्य सुब्बाको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि निर्माता तथा नायक राणालाई प्रहरी पक्राउ गरेको थियो ।

कुख्यात अपराधीलाई सम्मान गर्ने कार्यक्रम राखेको डायमण्ड क्लब काठमाडौका संयोजक पूनाराज जोशीले युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न राणालाई सम्मान गरेको बताए ।  फोटो : रोज राणा अाफ्नी श्रीमतीका साथमा, गुगल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us