२४८ जनाले पाए विद्याभूषण पदक

काठमाण्डु टुडे २०७० भदौ २३ गते ५:१३ मा प्रकाशित

काठमाण्डु, २३ भदौ–राष्ट्रपति डा. रामवरण यादवले मुलुकभित्र र बाहिरका विश्वविद्यालयबाट विद्यावारिधि तथा विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने २ सय ४८ जना विद्यार्थीलाई विद्याभूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले उहाँहरूलाई सो पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

विद्यावारिधिको उपाधि प्राप्त गर्ने १५२ जनालाई ‘क’ श्रेणीको र स्नातकोत्तर तहअन्तर्गत विभिन्न संकायको परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने ५८ जनालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको छ । यसैगरी स्नातक तहको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २० जनाले ‘ग’ श्रेणीको नेपाल भूषण पदक पाएका छन् । स्नातक तहका विभिन्न संकायअन्तर्गतका वार्षिक परीक्षामा सर्वोच्च अंक ल्याउने १३ जना छात्रालाई नेपाल छात्रा विद्या पदक प्रदान गरिएको छ ।

‘बालमैत्री, अनिवार्य शिक्षा ज्ञान र सीपको सुनिश्चितता’ भन्ने नारा सहित आइतबार राष्ट्रिय शिक्षा दिवस मनाइदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us