
काठमाण्डु २३ भदौ–नेकपा–माओवादीसहित ३३ दलीय राजनीतिक मोर्चाले बरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजस्व अनुसन्धान बिभागले मारेको छापालाई प्रतिशोधपूर्ण कार्वाहीको संज्ञा दिएको छ । राजश्व छलीको आरोपमा वरिष्ठ थापाको ल फर्ममा शुक्रवार सरकारले छापा मारेको थियो ।
मोर्चाका तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङले आइतवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ‘हामी सरकारको यसप्रकारको प्रतिशोध स्वरुप गरिएको कार्वाहीको बिरोध एवं भत्र्सना गर्न चाहन्छौ,आगामी दिनमा यसप्रकारका हर्कतहरु बन्द गर्न माग गर्दछौं ।’ राष्ट्रिय सभागृहमा ३३ दलीय मोर्चाले बिहिवार आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा थापाले सशक्त र प्रभावकारी अभिव्यक्ति राखेको पनि बिज्ञप्तिमा स्मरण गराइएको छ । बिज्ञप्तिमा भनिएको छ ‘राजश्व छलीको नाममा गरिएको उक्त हर्कत कतै विचारको स्वतन्त्रतामाथि कुण्ठित र आतङ्कित पार्न खोजिएको त हैन ? प्रधानन्यायाधीस खिलराज रेग्मी र अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विरुद्धमा परेका मुद्दाहरुमा पनि उहाँले सशक्त बहस गरिरहनुभएको थियो, यसैको प्रतिशोध स्वरुप आतङ्कित पार्न खोजिएको त होइन ? गम्भीर आशङ्का पैदा गरेको छ ।’