
गोविन्द घिमिरे
चितवन, २३ भदौ– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका एमाओवादीका कार्यकर्ता रामप्रसाद अधिकारीलाई आइतबार जिल्ला अदालत लगिदैछ । अदालतबाट म्याद थप गरि आवश्यक कानुनी कारवाहीका लागि उनलाई अदालत लगिने चितवनका प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए ।
काठमाण्डुबाट पक्राउ परेका उनलाई शुक्रबार चितवन लगिएको थियो । द्वन्द्वकालमा अधिकारीको हत्या चितवनमै भएकाले उनलाई चितवनमै लगेर अनुसन्धान प्रकृया अघि बढाइएको हो । द्वन्द्वकालका घटना सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउने सहमति भए पनि एकतर्फी रुपमा आफ्ना कार्यकर्तालाई फँसाउन लागिएको भन्दै एमाओवादीले विरोध गर्दै आएको छ ।
रामप्रसाद अधिकारी पक्राउ परेपछि छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै अनसन बसेका नन्दप्रसाद र गंगामाया अधिकारीले गएराति अनसन तोडेका छन् ।